
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले बेरुजु फर्स्यौटमा उत्कृष्टता हासिल हुनेगरी मेहनत गर्न नेपाल सरकारका सबै निकायलाई आह्वान गर्नुभएको छ ।
गृहमन्त्री खाँणले बेरुजु फर्स्यौटमा गम्भीर हुन र सबै आयव्ययलाई दुरुस्त गर्न सम्बन्धित सबै निकायलाई सचेत गराउनुभएको हो ।
सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक शैलेन्द्र खनालको विदाइमा सोमबार गृह मन्त्रालयमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले पूँजीगत खर्च गर्न नसकेर बजेटनै ल्याप्स हुने अवस्था आउन नदिन पनि सबै सरकारी निकायलाई आग्रह गर्नुभयो ।
‘नेपाल सरकारका समग्र विभागहरूलाई बेरुजु फर्स्यौटमा गम्भीर हुन, बजेटलाई नियमसम्मत रूपमा खर्च गर्न र हरहिसाव दुरुस्त राख्नका साथै बेरुजु फर्स्यौटमा उत्कृष्टता हासिल गर्न मेहनत गर्नुस् भनेर आह्वान गर्न चाहन्छु,’ उहाँले भन्नुभयो ।
मन्त्री खाँणले पूँजीगत खर्चको व्यवस्थापन गर्दै जनतालाई प्रतिफल दिनेगरी विकास, निर्माणको काममा तीव्रता दिन जरुरी रहेको पनि बताउनुभयो ।
‘भौतिक विकास र विकासले जनतालाई सबल बनाउँछ, विकास, निर्माणको प्रतिफल जनतामा पुर्याउँछ,’ उहाँले भन्नुभयो, ‘त्यसकारणले गर्दाखेरी हामीले भौतिक क्षेत्रमा गरिने खर्चलाई पनि हामीले व्यवस्थित गर्न जरुरी छ, खर्च गर्न नसकेर बजेटनै ल्याप्स हुने अवस्था नआओस् ।’
गृहमन्त्री खाँणले नेपाल प्रहरी र सशष्त्र प्रहरी बल, नेपालले बेरुजु फस्र्यौट कार्यमा उत्कृष्टता हासिल गरेको भन्दै प्रशंशा समेत गर्नुभयो ।
कार्यक्रममा बोल्दै सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक खनालले आफू सेवाबाट अवकाश प्राप्त भए पनि देश र जनताप्रति सदा उत्तरदायी भएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँले संगठनमा रहँदा आफूले देश र जनताको सेवामा समर्पित भएर लागेको र त्यो अनुभवलाई आउने दिनमा पनि प्रयोगमा ल्याउने कामलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा मन्त्री खाँणले खनाललाई उत्कृष्ट बेरुजु फस्र्यौट सम्मान पनि प्रदान गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्