
काठमाडौं । कारोबार भएको साताको पहिलो दिन शेयर बजारमा ४४ अंकको गिरावट आएको छ । शेयर बजार परिसूचक नेप्से ४४ दशमलव ६४ अंकले घटेर २ हजार ४ सय १९ दशमलव ७१ अंकमा आएको छ ।
२४ सय ७१ बाट सुरु भएको बजार सुरुवाती समयमा केही बढेर २५ सय ९ विन्दुसम्म पुगे पनि पछि ह्वात्तै घटेको थियो । ठूला कम्पनीहरूको सेयर मापक सेन्सेटिभ इन्डेक्स पनि ९ दशमलव ३८ अंकले गिरावट आएर ४ सय ५४ दशमवल ३७ विन्दुमा झरेको छ ।
सोमबार कारोबार रकमा पनि २ अर्ब २६ करोडमा खुम्चिएको छ । यो दिन उपसूचकहरू सबै राताम्मे भएका छन् । सबैभन्दा बढी जीवन बीमा ४३१ अंकले ओरालो लागेको छ ।
यस्तै, निर्जीवन बीमा १५५, उत्पादन १२८ अंकले ओरालो लागेका समूह हुन् । म्युचल फण्ड र लगानी समूह एक अंकले आरोलो लाग्दा बाँकी सबै समूहमा दोहारो अंकले झरेका छन् ।
यस दिन नेस्डो समृद्ध लघुवित्त र जालपा सामुदायिक लघुवित्तका लगानीकर्ताले १० प्रतिशतले कमाएर सकारात्मक सर्किट लाग्दा इमर्जिङ नेपाल र राष्ट्र उत्थान लघुवित्तका लगानीकर्ताले १० प्रतिशतले नै गुमाएर नकारात्मक सर्किट लाग्यो ।
यस दिन २ सय ३३ कम्पनीका ५० लाख ९५ हजार ८ सय ३४ कित्ता सेयर किनबेच हुँदा २ अर्ब २६ करोड ७ लाख ८६ हजार रुपैयाँको कारोबार भएको नेपाल स्टक एक्स्चेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्