
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले औद्योगिक वातावरण निर्माणका लागि सरकार गम्भीर बन्नुपर्ने बताउनुभएको छ ।
दुई दशकमा अर्थतन्त्रमा उत्पादनमुलुक उद्योगको हिस्सा १२ बाट ५ प्रतिशतमा झरिसकेको भन्दै अध्यक्ष गोल्छाले सरकार गम्भीर नभए अर्थतन्त्रमा जटिल समस्या निम्तने चेतावनी दिनुभयो ।
निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को ५६ औं वार्षिक साधारणसभा तथा उद्योग वाणिज्य दिवसको अवसरमा आयोजित कार्यक्रममा उहाँले विदेशी लगानीकर्ताहरू नेपालमा लगानी गर्न हिच्किचाएको बताउनुभयो ।
अध्यक्ष गोल्छाले निजी क्षेत्रका समस्या समाधान गरेर लगानीका लागि प्रोत्साहन गर्न आग्रह गर्नुभयो ।
कार्यक्रमको उद्घाटन गर्दै सभामुख अग्निप्रसाद सापकोटाले निजी क्षेत्रका समस्या समाधान गरी प्रोत्साहन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । मुख्य सचिव शंकरदास बैरागीले उद्योगपतिहरूको समस्या मनन् गर्दै ठोस कदम चाल्न सरकार तयार रहेको बताउनुयो ।
वार्षिक साधारणसभामा भाग लिन मुलुकभरबाट करिव १ हजार ५ सय उद्यमी व्यवसायीहरू राजधानी आएका छन् । कार्यक्रममा महत्वपूर्ण विषयहरूमा सरकार, नीति निर्माता उद्यमी व्यवसायीहरूबीच वृहत् छलफल हुनेछ ।
यस्तै विशेष सत्रमा तरलता अभाव एवं वाह्य क्षेत्र व्यवस्थापन, प्रतिस्पर्धी उत्पादनमुलक उद्योग र वैदेशिक लगानीको सम्भावना र चुनौति विषयमा पनि छलफल हुनेछ ।
वि.सं. २०२२ सालमा स्थापना भएको महासंघमा जिल्ला नगर वाणिज्य संघ १ सय १८ वटा, वस्तुुगत संघहरू १ सय २३ वटा, द्धिराष्ट्रिय उद्योग वाणिज्य संघ २० वटा र एसोसिएट सदस्य १७ सय ४८ वटा रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्