
काठमाडौं । निर्वाचन आयोगले नेकपा (एकीकृत समाजवादी)लाई तीन दिने स्पष्टिकरण सोधेको छ ।
चैत २६ गते भृकुटीमण्डपमा आयोजना गरेको आमसभामा निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्ने गुनासोका आधारमा तीन दिनभित्र जवाफ पेश गर्न आयोगले एकीकृत समाजवादीलाई स्पष्टिकरण सोधेको हो ।
‘आचारसंहिता उल्लंघनको सन्र्दभमा के कसो भएको हो तीन दिनभित्र आधार प्रमाणसपहित आयोगलाई चित्तबुझ्दो जवाफ माग गरिएको छ,’ सोमबार गरिएको नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भन्नुभयो ।
यस्तै, आयोगले नेपाली कांग्रेसका नेता एवं सांसद डा. शशांका कोइरालालाई पनि स्पष्टिकरण सोधेको छ । २०७४ सालमा भएको प्रतिनिधिसभा निर्वाचनमा आफूले चुनाव लड्दा ६ करोड खर्च भएको भन्ने अभिव्यक्ति सार्वजनिक भएसँगै आयोगले उहाँलाइ स्पष्टिकरण सोधेको हो ।
२०७४ सालको संघीय निर्वाचनमा प्रतिनिधिसभा सदस्यले अधिकतम् २५ लाख रुपैयाँसम्म खर्च गर्न पाउने व्यवस्था थियो । सोहीअनुसार डा. कोइारालाले आफूले २१ लाख रुपैयाँ खर्च गरेको भन्दै आयोगमा विवरण बुझाउनुभएको थियो ।
आयोगले डा. कोइरालालाई सात दिनभित्र उपयुक्त र चित्तबुझ्दो जवाफ पेश गर्न निर्देशन दिएको छ ।
यसैबीच, स्थानीय तह निर्वाचनका लागि हालसम्म २८ जिल्लाका लागि आवश्यक पर्ने ४५ लाख २२ हजार मतपत्र छपाइ कार्य सम्पन्न भएको प्रवक्ता पौडेलले जानकारी दिनुभयो ।
यस्तै, निर्वाचनको मिति घोषणा भएपछि आचारसंहिता लागू हुनुअघिसम्म २३ हजार ८ सय मतदाता थपिएको आयोगले जनाएको छ ।
आयोगले स्थानीय तह निर्वाचन आचारसंहिता सञ्चार माध्यामहरुले पालना गरे÷नगरेको अनुगमन गर्ने जिम्मेवारी प्रेस काउन्सिल नेपाललाई दिएको छ ।
प्रतिक्रिया दिनुहोस्