
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले मुलुकको मूल अर्थ र आर्थिक समृद्धिको मुख्य आधार लघु, घरेलु तथा साना उद्योग नै भएको बताउनुभएको छ ।
नेपाल घरेलु तथा साना उद्योग महासंघको प्रतिनिधिमण्डलसँग बुधबार मन्त्रालयमा भएको छलफलमा मन्त्री बडूले साना उद्योगहरू सरकारको प्राथमिकतामा परेको क्षेत्र भएको बताउनुभयो ।
उद्यमीले उत्पादन गरेका वस्तुहरूको बजारमा कसरी पहुँच पुर्याउने, नयाँ प्रविधिमार्फत बजार कसरी व्यवस्थापन गर्ने अहिलेको महत्वपूर्ण विषय भएको मन्त्री बडुले बताउनुभयो ।
कार्यक्रममा महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले स्वदेशी वस्तुको प्रवर्द्धनका लागि सार्वजनिक निकायमा स्वदेशी वस्तुको उपयोग सम्बन्धी निर्देशिका २०७१ को प्रभावकारी कार्यान्वयनको माग गर्नुभयो ।
साना उद्यमीहरूलाई बैंकहरूले कर्जा प्रवाहमा भेदभाव गर्ने गरेको पनि उनीहरूले गुनासो गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्