१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


बेरुजु फर्छ्यौट गर्न ११ हेलिकोप्टर कम्पनीलाई १५ दिने अल्टिमेटम


117
Shares

सोलुखुम्बु । सगरमाथा राष्ट्रिय निकुञ्जले बेरुजु फर्छ्यौट गर्न हेलिकोप्टर कम्पनीलाई १५ दिने अल्टिमेटम दिएको छ ।

निकुञ्ज क्षेत्रमा उडान र अवतरणमा रोक लगाउने निर्णय गरिएकोमा निकुञ्जले चैत्र २९ गते हेलिकोप्टर कम्पनीलाई १५ दिने अल्टिमेटम दिएको हो ।

तोकिएको समयावधिभित्र बेरुजु फर्छ्यौट नभए उडान अवतरणमा रोक लगाउने सगरमाथा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत भुमिराज उपाध्यायले जानकारी दिनुभयो ।

यसअघि बेरुजु रकमबारे अध्ययन गर्न गठित छानविन समितका संयोजक मनोजकुमार मण्डलले पेश गरेको प्रतिवेदनलाई आधार बनाएर १५ दिने अल्टिमेटम दिएको उहाँले बताउनुभयो ।

पटक–पटक ताकेता गर्दासम्म ११ हेलिकप्टर कम्पनीले उडान अवतरणको बेरुजु रकम फर्छ्यौट गर्न आनाकानी गरेपछि जिल्लास्तरीय वन्यजन्तु अपराध नियन्त्रण इकाइको बैठकले उडान अवतरणमा रोक लगाउने निर्णय गरेको हो ।

निकुञ्जले सिम्रिक, कैलाश, मनाङ, माउण्टेन, फिस्टेल, हेलि एभरेष्ट, डाइनेष्टि, अल्टिच्यूड, प्रभु र श्री एयरलाइन्सलाई राजश्व दाखिला गर्न अन्तिम पटक पत्राचार गरेको हो ।

कैलाश एयरले आ.व. ०७५/७६ कै आठ लाख ६१ हजार रुपैयाँ बुझाउन बाँकी छ भने सिम्रिकको १८ लाख ३ हजार, एभरेस्ट हेलिको १३ लाख ८६ हजार, माउन्टेनले सात लाख ४१ हजार र एयर डाइनेस्टीले सात लाख २९ हजार बुझाउन बाँकी रहेको निकुञ्जले जनाएको छ ।

अन्य सात कम्पनीहरूको भने चार लाख रुपैयाँभन्दा कम बक्यौता छ ।