
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सरकारले सार्वजनिक विद्यालयलाई सुधार गर्न जोड दिइरहेको बताउनुभएको छ ।
बुधबार काठमाडौं महानगरपालिकाभित्रका विभिन्न सार्वजनिक विद्यालयहरूको अनुगमन गर्ने क्रममा बोल्दै मन्त्री पौडेलले सार्वजनिक शिक्षालाई सुधार गर्नका लागि सरकारले जोड दिइरहेको बताउनुभयो ।
उहाँले नेपालको सार्वजनिक शिक्षामा भौतिक पूर्वाधारको सुधार, कानूनी सुधार र शिक्षण सिकाइ प्रक्रियामा सुधार आवश्यक रहेकाले त्यसका निम्ति सरकार लागिरहेको बताउनुभयो ।
मन्त्री पौडेलले निक्षी क्षेत्रले पनि शिक्षालाई नाफा आर्जन गर्ने थलोको रूपमा नलिइ न्युनतम शुल्कमा पढाउनुपर्ने बताउनुभयो । सरकारले निजी क्षेत्रलाई पनि ध्यान दिइरहेको उहाँले बताउनुभयो ।
उहाँले कम्तिमा ३ वर्षभित्रमा सार्वजनिक शिक्षा सुधारमा देखिनेगरी सरकारले काम गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।
मन्त्री पौडेलले विद्यालय सुधार्ने मुख्य जिम्मेवारी शिक्षकको काँधमा रहेको भन्दै शिक्षकहरूले विशेष रूपमा ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले शिक्षक र विद्यार्थीलाई विद्यालय पोशाक अनिवार्य रूपमा लगाउन आग्रह पनि गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्