१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


रिलायन्सले साढे ४ अर्ब लगानी थप्ने


4.355k
Shares

काठमाडौं । देशको सबैभन्दा ठूलो रिलायन्स स्पिनिङ मिल्सले उत्पादन क्षमता विस्तारको लागि ४ अर्ब ५० करोड रुपैयाँ थप लगानी गर्ने भएको छ ।

रिलायन्स स्पिनिङ मिल्सले विगत लामो समयदेखि ६ वटा उत्पादन इकाईमा स्पिनिङ धागो उत्पादन गर्दै आएकोमा थप दुई नयाँ उत्पादन प्लान्टका लागि ४ अर्ब ५० करोड रुपैयाँ थप लगानी विस्तार गर्ने भएको हो ।

उद्योगले ६ वटा इकाईबाट वार्षिक करिव ५० मेट्रिकटन भन्दाबढी धागो उत्पादन गर्दै आएको छ ।

उद्योगले उत्पादन बढाउनको लागि दुई वटा ७ र ८ इकाई थप्न लागेको उद्योगका प्रबन्धक महेशकुमार पोखरेलले बताउनुभयो ।

प्रबन्धक पोखरेलले उद्योगमा अहिलेसम्म १० अर्ब लगानी भइसकेको र दुई वटा नयाँ युनिट विस्तार गर्दा कूल लगानी १५ अर्ब ५० करोड पुग्ने जानकारी दिनुभयो ।

अबको ६ महिनाभित्र दुई वटा नयाँ प्लान्ट निर्माण सम्पन्न गरेर उत्पादन गर्ने तयारीमा उद्योग रहेको पोखरेलले बताउनुभयो ।

प्रबन्धक पोखरेलले उद्योगले उत्पादन विस्तारको लागि लगानी थप्दै लगे पनि उद्योगमा समस्या र चुनौतीहरु धेरै रहेको बताउनुभयो ।

उहाँले कामदार, विद्युत्, बढ्दो ढुवानी खर्चले विदेशबाट कच्चा पदार्थ ल्याएर नेपालमा धागो उत्पादन गरेर विदेश निर्यात गर्न समस्या रहेको गुनासो गर्नुभयो ।

सरकारले नेपालको धागो बंलादेशमा निर्यात गर्नको लागि राजनीतिक पहल गरेर खुलाउने हो भने नेपालको राम्रो निर्यात हुनसक्ने कम्पनीका सञ्चालक शशिकान्त अग्रवाल बताउनुहुन्छ ।

नेपालमा उत्पादनमूलक उद्योग सञ्चालन गर्न जमिन, भवन, मिल, मिसिनरी, श्रमिक र बैंकको ब्याज अधिक हुँदा उत्पादन लागतमा अत्यधिक वृद्धि भएको उद्यमीहरुको भनाइ छ ।