१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


भाेलिबाट संस्थागत श्रम स्वीकृति पूर्ण रूपमा अनलाइनबाटै


455
Shares

काठमाडौं । वैदेशिक रोजगार विभागले भोलि (शुक्रबार)देखि संस्थागत श्रम स्वीकृति पूर्ण रूपमा अनलाइनबाट मात्रै जारी गर्ने भएको छ ।

श्रम स्वीकृतिसम्बन्धी सम्पूर्ण कार्य अनलाइन प्रणालीमा लगिएसँगै वैदेशिक रोजगार कार्यालय ताहाचलबाट संस्थागत श्रम स्वीकृति अनलाइनबाट मात्रै जारी गर्न लागिएको विभागका महानिर्देशक शेषनारायण पौडेलले जानकारी दिनुभयो ।

विभागले गत माघ २ गतेदेखि अनलाइनबाट पुनः श्रम स्वीकृति प्रदान गर्दै आएको छ । सरकारले श्रम स्वीकृतिलगायत वैदेशिक रोजगारसँग सम्बन्धित सम्पूर्ण सेवा अनलाइनबाट उपलब्ध गराउँदै आएको छ ।

अनलाइनबाट व्यक्तिगत र संस्थागत श्रम स्वीकृति प्रदान गर्न थालिएसँगै वैदेशिक रोजगार कार्यालयमा हुने भीड कम भएको छ । विभागले सूचना जारी गर्दै सम्बन्धित इजाजतपत्रवाला संस्था, सेवाग्राही र सरोकारवाला सबैलाई संस्थागत श्रम स्वीकृति अनलाइन प्रणालीबाट मात्रै हुने जानकारी गराएको छ ।

पहिलो आउने सेवाग्राहीलाई पहिलो सेवा दिने आधारमा अनलाइन निवेदनको फर्छ्योट गरिने भन्दै विभागले कम्तिमा तीन दिन अगाडि श्रम स्वीकृतिका लागि अनलाइनबाट निवेदन दिन आग्रह गरेको छ ।

गत फागुन महिना मात्रै ४८ हजार ७४३ पुरुष र ४ हजार ७१४ महिला गरी ५३ हजार ४५७ जनाले विभागबाट श्रम स्वकृित लिएका छन् । श्रम स्वीकृति लिने मध्ये अधिकांश अदक्ष श्रमिक रहेको कार्यालयले जनाएको छ ।