
भक्तपुर । भक्तपुरको ऐतिहासिक बिस्का जात्रामा हिजो उठाउनुपर्ने लिङ्गो आज ढालिँदैछ ।
परम्पराअनुसार चैत्र मसान्तमा उठाइनुपर्ने लिङ्गो हिजो उठाउन नसक्दा आज उठाइएको हो । बिस्केट जात्राको क्रममा भक्तपुरको यःसिंखेलमा वर्षेनी चैत्र मसान्तको दिन ५५ हातको लिङ्गो उठाउने गरिन्छ भने नयाँ वर्षको दिन बैसाख संक्रान्तिमा ढाल्ने गरिन्छ ।
चैत्र मसान्तको दिनमा उठाउन नसकिए भोलिपल्ट उठाउने परम्पराअनुसार आज लिङ्गो उठाइएको हो । केहीबेरअघि उठाइएको लिङ्गो आजै ढालिनेछ ।
यसअघि सयौं युवाहरुले राती ११ बजेसम्म प्रयास गर्दा पनि लिङ्गो उठाउन नसकेको हो । लिङ्गो उठाउने कार्यक्रम शुरु गर्नुअघि भैरवनाथको रथलाई यसिंखेल पुर्याइएको थियो । लिङ्गो उठाउने बेला भैरवनाथको रथ अगाडी राख्नुपर्ने परम्परा छ ।
स्थानीय भाषामा यःसिं भनिने लिङ्गोलाई आठवटा डोरीको सहाराले उठाउने गरिन्छ । लिङ्गोलाई भैरवको प्रतीकको रूपमा लिइन्छ भने लिङ्गो उठाउन प्रयोग गरिने आठ वटा डोरीलाई अष्टमातृकाको रूपमा लिइन्छ ।
त्यसैगरी लिङ्गोमा फहराइने दुइवटा ध्वजालाई नाग व नागिनको रुपमा विश्वास गरिन्छ । आठ रात नौ दिनको जात्रा गत चैत्र २७ गते भक्तपुरको टौमढीस्थिन न्यातपोल मन्दिर अगाडी भैरबनाथको रथ तान्दै शुरु भएको थियो ।
आउँदो बैसाख ५ गते रथजात्रासँगै यस वर्षको जात्रा सम्पन्न हुनेछ । जात्राकै क्रममा भोलि मध्यपुर थिमिमा बालकुमारीको खट यात्रासँगै सिन्दुर जात्रा हुन लागेको छ भने बोडेमा जिब्रो छेड्ने जात्रा ‘म्येप्वाःयाः’ हुनेछ ।
प्रतिक्रिया दिनुहोस्