
काठमाडौं । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले पुनः आफू महानगरको मेयर हुने दाबी गर्नुभएको छ ।
बिहीबार ईमेज टेलिभिजको कार्यक्रम ‘हट सिट’मा कुराकानी गर्दै मेयर दाहालले आफूले पुनः उम्मेदवारी दिने र जित्ने दाबी गर्नुभयो ।
‘यसपटक पनि भरतपुर महानगरमा मेरो दाबी रहन्छ,’ उहाँले भन्नुभयो, ‘उम्मेदवारी दिनेछु र भरतपुरको मेयरमा फेरि पनि विजयी हुनेछु, महानगरको विकास हेरर पनि जनताले मलाई साथ दिनुहुनेछ ।’
मेयर दाहालले चितवन कांग्रेसले असन्तुष्टि जनाउनु स्वभाविक भएको बताउँदै गठबन्धनको निर्णय सबैले मान्नुपर्नेमा जोड दिनुभयो । यद्यपि गठबन्धनमा निर्वाचन लड्दा केहीले अन्तर्घात गर्नेमा भने आफू जानकार रहेकोसमेत बताउनुभयो ।
‘चितवनका कांग्रेस नेता÷कार्यकर्ताको हिसाबले उहाँहरूको असन्तुष्टि जायज हो,’ उहाँले थप्नुभयो, ‘तर, हामी गठबन्धनमा छौं, त्यसैले गठबन्धनको निर्णय हामीले मान्नुपर्छ ।’
उहाँले देशमा अरू महानगरमा नेकपा (माओवादी केन्द्र)ले दाबी नगरेको पनि स्मरण गराउनुभयो । आफूले चितवनमा राजनीति मात्र भएर विकासका कामहरू प्रशस्तै गरेको उहाँको दाबी छ ।
नेकपा (माओवादी केन्द्र)लाई परिवारवादले किन गाँजेको भन्ने प्रश्नको जवाफमा मेयर दाहालले आफ्नो परिवारले पाएको मात्र नहेर्न आग्रह गर्नुभयो ।
‘हामीले पाएको मात्र हेरिदिनु भएन,’ उहाँले भन्नुभयो, ‘हामीले गुमाएका पनि धेरै छौं, उचित शिक्षा र स्वास्थ्य पाएनौं, देशकै लागि परिवारलाई गुमायौं, हामीले पाएको भन्दा धेरै गुमाएका छौं ।’
प्रतिक्रिया दिनुहोस्