
काठमाडौं । पुष्पराम केसी ससस्त्र प्रहरी बल नेपालको १९ दिनका लागि प्रहरी महानिरीक्षक (आइजीपी) बन्नुभएको छ ।
यसअघिका महानिरीक्षक शैलेन्द्र खनालले गत सोमबार आइजीपीको चार वर्षे कार्यकाल पूरा गरी अनिवार्य अवकास पाएपछि २०७८ चैत ३० गतेको मन्त्रिपरिषद् बैठकको निर्णयबाट सरकारले केसीलाई ११औं औँ महानिरीक्षकमा बढुवा गरेको हो ।
खनाल महानिरीक्षक भएको चार वर्ष नपुगेको भए हालका आइजीपी केसी अतिरीक्तबाटै बाहिरिनुपर्ने थियो । खनालको ३० वर्षे सेवा अवधि हिसाब गर्ने हो भने केसीसँगै अवकास पाउनुहुन्थ्यो, तर ससस्त्रमा महानिरीक्षक भएको चार वर्ष पुगेपछि पनि अनिवार्य अवकास हुने बाध्यकारी व्यवस्था केसीका लागि अवसर बन्न पुग्यो ।
सशस्त्रमा ३० वर्ष सेवा अवधि वा आइजी भएको चार वर्ष जुनअघि आउँछ त्यही मितिबाट अनिवार्य अवकास लिनुपर्ने व्यवस्था छ । आइजीका प्रतिष्पर्धीमा उहाँसँगै ससस्त्र प्रहरी अतिरीक्त महानिरीक्षक रामशरण पौडेल पनि हुनुहुन्थ्यो तर वरियताका आधारमा सरकारले केसीलाई पदोन्नति गरेको हो । तीस वर्षे सेवा अवधिका कारण उहाँहरु यही वैशाख १८ गते अवकाश लिँदै हुनुहुन्छ ।
केसीले सशस्त्र प्रहरीको नेतृत्व सम्हालेलगत्तै सशस्त्र प्रहरी कर्मचारीबाट राज्यप्रदत्त जिम्मेवारीका क्षेत्रमा निःस्वार्थ भावनाकासाथ व्यावसायिक भइ कुशलतापूर्वक कार्यसम्पादन हुने विश्वास व्यक्त गर्नुभयाे । सशस्त्र प्रहरी कर्मचारीले आगामी दिनमासमेत नियुक्तिका क्षेत्रहरुमा उच्च हौसलाकासाथ चेन अफ कमाण्ड, फौजी मर्यादा र अनुशासनमा रही सामुहिक भावनासाथ कार्यक्षेत्रमा क्रियाशिल हुन केसीले अपेक्षा गर्नुभयाे ।
सङ्गठन सुदृढिकरणका लागि योजना प्रस्तुत गर्नुहुँदै केसीले सशस्त्र प्रहरी बल नेपालको जनशक्तिको समयसापेक्ष र वैज्ञानिक ढङ्गले परिचालन, प्रभावकारी सीमा सुरक्षा व्यवस्थापन, आवश्यकता अनुसार ऐन नियम तथा निर्देशिका परिमार्जन, सङ्गठन व्यवस्थापनमा लाग्ने प्रतिवद्धता जनाउनुभयाे ।
१८ दिनपछि को बन्ला नयाँ आइजी ?
अबको १८ दिनपछि एआइजी पद रिक्त हुने भएकाले हाल रहेका ससस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइजी)बाट ससस्त्रको १२औं आइजीपी नियुक्त गरिनेछ ।
हाल एआइजीको दुई सिट मध्ये एउटा खाली छ । गृहमन्त्रालयको बढुवा समितिले बुधबार नै ससस्त्र प्रहरी अतिरीक्त महानिरीक्षकको पदोन्नतिका प्रयोजनार्थ प्राप्त गरेको शैक्षिक योग्यतालगायत आवश्यक प्रमाणपत्र पेश गर्न तीन दिनको समयसिमा दिइसकेको छ ।
आइजीको फूली लगाए कै दिन केसीले बुढुवा समितिका सदस्यसचिवको हैसियतले दावी पेश गर्न सूचनामार्फत डिआइजीलाई आग्रह गर्नुभएको छ ।
वरीयतामा अगाडि रहनुभएका हालका डिआइजी राजु अर्याल, नारायणदत्त पौडेल र चन्द्रप्रकाश गौतममध्येबाट एक जना ससस्त्र प्रहरी अतिरीक्षक महानिरीक्षकमा बढुवा हुने र उहाँ नै भावी आइजीपी हुने देखिन्छ । त्यसैले अहिलेको बढुवा प्रक्रियालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
ससस्त्र प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक विदुर खड्काका अनुसार अर्याल एक नम्बरमा हुनुहुन्छ भने पौडेल दोस्रो र गौतम तेस्रो नम्बरमा हुनुहुन्छ । अर्याल र पौडेल नेपाल प्रहरीबाट र गौतम नेपाली सेनाबाट सशस्त्रमा आउनुभएको हो ।
प्रतिक्रिया दिनुहोस्