१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कांग्रेसले सबै पालिकामा प्रतिनिधि पठाउने, केन्द्रीय सदस्यलाई जिल्ला–जिल्लामा खटिने


260
Shares

काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनलाई केन्द्रीत गरेर सबै पालिकाहरूमा प्रतिनिधि पठाउने भएको छ ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको बैठकले सबै पालिकाहरूमा प्रतिनिधि पठाउनका लागि निर्देशन दिने निर्णय गरेको नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले जानकारी दिनुभयो ।

सह–महामन्त्रीहरूलाई प्रदेश तहमा र प्रदेश र केन्द्रीय प्रतिनिधिहरूलाई जिल्लामा पठाइने पनि उहाँले बताउनुभयो । त्यसैगरी स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति अन्तर्गत विभिन्न उपसमितिहरू पनि गठन गरिएको छ ।

उपसमितिहरूमा भातृ संघ समन्वय एवं परिचालन, शुभेच्छुक संस्था समन्वय परिचालन, जिल्ला सम्पर्क समन्वय एवं परिचालन, विदेशस्थित जनसम्पर्क समिति समन्वय एवं परिचालन, अनुगमन, मुल्याङ्कन तथा सुपरिवेक्षण, निर्वाचन सुरक्षा निकाय र आचारसंहिता अनुगमन तथा निर्वाचन आयोग समन्वय उपसमितिहरू रहेको उहाँले बताउनुभयो ।

पार्टीका उपसभापति तथा स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिका संयोजक पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको समितिको बैठकमा चुनावी सभालाई व्यवस्थित बनाउने, आचारसंहिता पालना भए, नभएको अनुगमन गर्ने सम्बन्धमा पनि छलफल भएको उहाँले बताउनुभयो ।