२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


अब एक चुनाव हेरौँ भन्ने अवस्था छैन : राजेन्द्र लिङ्देन

‘नेपाली युवाले बिहे गरेको भोलिपल्टै अरेबियनको नोकर बन्न किन बाध्य बनाइयो ?’

169
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अब फेरि एक चुनाव हेरौँ भन्ने समय नरहेको बताउनुभएको छ ।

राप्रपा चितवनले शुक्रबार भरतपुरमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै लिङ्देनले ठूला दललाई फेरि जिताएर देश बनाउन खोज्नु भनेको साँढेको टाङमुनि बाल्टी थापेर दूध आउनु जस्तै भएको बताउनुभयो ।

ठूला भन्ने दलहरूले विदेशीको सहयोगविना नेपाललाई बनाउन नसक्ने सोचिरहेको भन्दै उहाँले भन्नुभयो, ‘अब एक चुनाव हेरौं भन्ने समय छैन । जनता कुनै राजनैतिक दलको गोठको वस्तु होइन। साँढेको टाङमुनि बाल्टी थापेर दूध आउँछ ?’

बिहे गरेको भोलिपल्टै अरेबियनको नोकर बन्न नेपालीलाई किन बाध्य बनाएको भनेर ठूला दलहरूलाई उहाँले प्रश्न गर्नुभयो । लिङ्देनले कृषिप्रधान देश भन्ने तर किसानले पैसा तिरेर पनि मल किन्न नपाउने अवस्था आउनुमा ठूला दल नै दोषी भएको बताउनुभयो ।

‘नेपाली युवाले बिहे गरेको भोलिपल्टै अरेबियनको नोकर बन्न किन बाध्य बनाइयो ?’, उहाँले प्रश्न गर्नुभयाे, ‘कृषिप्रधान देश भन्ने पैसा तिरेर पनि मल बीउ किन्न नपाइने ? चोरीको बाटोबाट ल्याएको मल बीउ किन्नुपर्ने ?’

कसैले उद्योग खोल्न चाह्यो भने सबै दललाई भाग छुट्याउनुपर्ने अवस्था रहेको भन्दै उहाँले सामान्य कर तिर्न पनि कमिसन खुवाउनुपर्ने बताउनुभयो । सुकुम्बासीलाई एक टुक्रा कागज दिएर दलहरूले मागी खाने भाँडो बनाएको उहाँको आरोप छ ।

३२ वर्ष एउटै खाले विचार बोकेको दलले देश चलाउँदा सोचेजस्तो परिवर्तन नभएको उहाँले बताउनुभयो ।

‘३२ वर्षसम्म देश चलाउँदा जनताले देख्न पाउने विकास त टाढाको कुरा, बेरोजगारीको अखडा बन्यो, जसले गर्दा कतिपय गाउँमा मलामी पनि महिला नै जानुपर्छ’, उहाँले भन्नुभयो ।

लिङ्देनले अब विकल्प सोच्ने बेला आएको बताउनुभयो ।

‘चुनावलाई ख्याल ख्याल नठानौँ’, उहाँले भन्नुभयो, ‘भोट दिनुभन्दा अगाडि हजार पटक सोच्नुस्, बाजे–बाउको पार्टी भनेर भोट नदिनुस्, ठिक पार्टी र ठिक नेता चुन्नुपर्छ ।’

गएका चुनावहरूमा ठिक पार्टी र नेता चुन्न नसक्दा देश र जनताले दुःख पाएको उहाँले बताउनुभयो ।