
एजेन्सी । युक्रेनलाई थप हतियार सहयोग नगर्न रुसले अमेरिकालाई कुटनीतिक नोट पठाएर चेतावनी दिएको छ ।
रुसले गएको फेबु्रअरी २४ देखि युक्रेनमा आक्रमण गर्दै आएको छ । रुसले आक्रमण थालेसँगै अमेरिकासहितका पश्चिमा राष्ट्रले युक्रेनलाई हतियारसहितका सैन्य सामग्री सहयोग गरेका छन् ।
युक्रेनी सैनिकले रुसी आक्रमणको अनपेक्षित रूपमा बलियो प्रतिरक्षा गरिरहेका छन् । यही सन्दर्भमा रुसले अमेरिकालाई थप हतियार युक्रेन नपठाउन वा अनुमान लगाउन नसक्ने परिणामका लागि तयार हुन चेतावनी दिएको हो ।
रुसले कूटनीतिक नोट पठाएर अमेरिकालाई चेतावनी दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अमेरिका तथा नेटो सैन्य गठबन्धनका सदस्य राष्ट्रले युक्रेनलाई गरिरहेको गम्भीर हतियार सहयोगले युद्धमा ‘तेल’ थपिरहेको आरोप रुसले कूटनीतिक नोटमा लगाएको वासिङ्टन पोस्टले उल्लेख गरेको छ ।
अमेरिका र नेटो राष्ट्रले युक्रेनलाई थप हतियार दिएमा गम्भीर परिणाम भोग्नुपर्ने रुसको चेतावनी छ । अमेरिकी अधिकारीले भने रुसको कूटनीतिक नोटबारे केही बताएका छैनन् । तर, युक्रेनलाई आवश्यक हतियारसहितका सहयोग भने जारी रहने स्पष्ट पारेका छन् ।
अमेरिकाले पछिल्लोपटक थप ८ सय मिलियन डलर बराबरको सैन्य सहयोग युक्रेनलाई दिने तयारी गरिरहेको छ । युद्ध सुरु भएयता अमेरिकाले युक्रेनलाई गरेको हतियारसहितका सहयोगको आँकडा यसले २.६ बिलियन डलर पुग्नेछ ।
अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले युक्रेनलाई अत्याधुनिक हतियार पठाउने पनि स्पष्ट पारेको छ ।
प्रतिक्रिया दिनुहोस्