
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीले छनोट हुन नसक्ने सार्वजनिक अभिव्यक्ति दिइरँदा खेलाडीले भने अन्तिमसम्म लड्ने बताएका छन् ।
एएफसी एसियन कप छनोट प्रतियोगिताको कठिन मानिएको समूहमा रहेको नेपालले जुन ८ देखि १४ सम्म कुवेतमा हुने प्रतियोगिताको तयारीमा रहेको खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्ने बताएका हुन् ।
कठिन मानिएको समूहमा रहेको नेपालले छनोटमा उत्कृष्ट प्रदर्शनको आशा राखेको छ । नेपाली टोलीका उपकप्तान रोहित चन्दले छनोटमा उत्कृष्ट प्रदर्शन गर्नका लागि योजनाबद्ध तरिकाले तयारी गरिरहेको बताए ।
नेपाल रहेको समूहमा आयोजक कुवेतसँगै नेपाल, इन्डोनेसिया र जोर्डन रहेका छन् । बलिया टोली भएकाले नेपालको छनोट सम्भावना न्यून रहेको छ । छनोटको सम्भावना कम भए पनि छनोटमा उत्कृष्ट प्रदर्शनका लागि नेपाली टोली तयार रहेको सुजल श्रेष्ठले बताए ।
यस्तै विशाल राई, अनन्त तामाङ र विशाल श्रेष्ठले पनि अन्तिमसम्म पनि बलिया टोलीविरुद्ध नतिजाका लागि लड्ने प्रतिक्रिया दिए ।
लामो समयसम्म चोटका कारण मैदान बाहिर रहेका नवयुग श्रेष्ठ पनि टोलीमा फर्किएका छन् । चोटलाई भुलेर राम्रो खेल्न अवसर एएफसी एसियन कप छनोट प्रतियोगितामा भएको नवयुगले बताए ।
छनोटबाट समूहको शीर्ष टोली चीनमा आयोजना हुने एसियन कप २०२३ मा छनोट हुनेछन् । यस्तै ५ समूहको उत्कृष्ट उपविजेताले पनि प्रतियोगितामा सहभागी हुने मौका पाउनेछन् ।
प्रतिक्रिया दिनुहोस्