९ बैशाख २०८२, मंगलबार | Wed Apr 23 2025


नेपालको सिमावर्ती उत्तर प्रदेशमा कोरोना संक्रमित बढे, सार्वजनिक स्थानमा मास्क अनिवार्य


624
Shares

काठमाडौं । नेपालसँग सिमाना जोडिएको भारतीय राज्य उत्तर प्रदेशमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सार्वजनिक स्थानमा मास्क अनिवार्य गरिएको छ ।

राज्य सरकारले कोरोना संक्रमितको संख्या बढेसँगै गौतमबुद्धनगर, गाजियाबाद, हापुड, मेरठ, बुलंदशहर, बागपत र लखनऊजस्ता ठूला शहरका सार्वजनिक स्थानमा मास्क अनिवार्य गरेको हो ।

भारतको राजधानी दिल्लीसहित यूपीको कयौं शहरमा पछिल्लो केही दिनदेखि कोरोना संक्रमितको संख्यामा तीव्र रूपमा वृद्धि भइरहेको छ । नोएडा र गाजियावादका कयौं विद्यालयका विद्यार्थीमा संक्रमण देखिएको छ ।

भारतमा पछिल्लो २४ घण्टामा २ हजार १ सय ९३ जनामा संक्रमण पुष्टि भएको छ । दिल्लीमा मात्र यो संख्या ५ सय १७ छ । त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार सोही समयमा १ हजार ९ सय ८५ जना ठिक भएका छन् भने २ सय १४ जनाको मृत्यु भएको छ ।

यसअघि मुम्बईमा रहेको आईपीएल क्रिकेटको एक महत्त्वपूर्ण टीम दिल्ली क्यापिटल्सका खेलाडीमा कोरोना संक्रमण देखिएको थियो ।

भारतमा कोरोना संक्रमितको संख्या बढेसँगै त्यसको प्रभाव नेपालमा पनि पर्ने गरेको छ । यसअघिको संक्रमणको लहर पनि भारतमा भन्दा १५ दिन ढिलो गरी नेपालमा सुरु भएको जनस्वास्थ्यविद् बताउँछन् ।