१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


एन्फाको निर्णय : नयाँ बस्ती क्लबलाई तीन लाख जरिवाना, खेलाडी र अफिसियललाई प्रतिबन्ध


377
Shares

काठमाडौं । मध्यपुर युथ एसोसियनविरुद्धको खेलमा मैदानभित्र गरिएको अभद्र व्यवहार र अनुशासनहीन कार्यका कारण अखिल नेपाल फुटबल संघ (एन्फा)ले नयाँ बस्ती युथ क्लबलाई तीन लाख जरिवाना गरेको छ ।

एन्फाअन्तर्गतको लिग कमिटीको सोमबार बसेको बैठकले ‘बी’ डिभिजन क्लब नयाँ बस्तीलाई जरिवानासहित खेलाडी र अफिसियललाई फुटबल गतिविधिमा प्रतिबन्ध गरेको हो ।

क्लब अफिसियल श्रीबहादुर योगीलाई दुई वर्ष एन्फाले आयोजना गर्ने फुटबल गतिविधिमा सहभागिता हुन नपाउने निर्णय गरेको छ । यस्तै, क्लब व्यवस्थापक विकास राईलाई ६ महिना र खेलाडी मनोज राईलाई एक वर्ष फुटबलमा प्रतिबन्ध लगाएको छ ।

२६ चैतमा सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा मध्यपुर युथसँग ३–१ अन्तरले पराजित भएसँगै क्लबका प्रतिनिधिले भौतिक सामग्री तोडफोड गरेका थिए ।

चर्च ब्वाइज युनाइटेड र खुमलटार युवा क्लब शीर्ष डिभिजनमा उक्लिँदा नयाँ बस्तीले भने ११औं स्थानमा रहेर ‘बी’ डिभिजन लिग टुङ्गाएको थियो ।