
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ गठबन्धन कुनै हालतमा नतोड्ने बताउनुभएको छ ।
मंगलबार नेपाल विद्यार्थी संघको ५३औं स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले गठबन्धन तोड्ने षड्यन्त्र भइरहेको उल्लेख गर्दै कुनै हालतमा गठबन्धन तोड्नु नहुने बताउनुभएको हो ।
उहाँले नेता तथा कार्यकर्तालाई गठबन्धनको पक्षमा बोल्न आग्रह पनि गर्नुभयो । गठबन्धन भएरै कांग्रेसले प्रधानमन्त्री तथा विभिन्न प्रदेशहरूमा मुख्यमन्त्री पाएको भन्दै उहाँले कांग्रेस पार्टीलाई सरकारमा ल्याएर आफूले राम्रो काम गरेको बताउनुभयो ।
प्रधानमन्त्री देउवाले नेपालको संविधान अनुसार एउटै पार्टीको बहुमतको सरकार बन्ने सम्भावना नरहेकोले कोही न कोही सँग मिल्नै पर्ने बाध्यता रहेको बताउनुभयो । लेनदेनकै आधारमा गठबन्धन बन्ने भएकाले केही न केही सबैले पाउनुपर्ने उहाँले बताउनुभयो ।
प्रधानमन्त्री देउवाले नेपाल विद्यार्थी संघले कुनै पनि स्कुल, क्याम्पस तथा विश्वविद्यालयहरूको युनियन हार्नु नहुने बताउनुभयो । उहाँले नेविसंघका नेताहरूलाई शहर केन्द्रीत नभई गाउँ केन्द्रीत संगठन निर्माणमा जोड दिन आग्रह गर्नुभयो ।
प्रधानमन्त्री देउवाले पढाइमा फेल भएर विद्यार्थी नेता बन्न नसकिने भन्दै पढाइमा पनि अब्बल बन्नुपर्ने बताउनुभयो । उहाँले नेविसंघको हातमा देश आइसकेकाले भविष्यमा नेतृत्व गर्नेगरी अहिलेदेखि नै तयारी साथ अगाडी बढ्न आग्रह गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्