२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


गठबन्धनको शक्ति देखेर ओली थरथरी काँपेका छन् : रामचन्द्र पौडेल

आठ कक्षामाथिका सम्पूर्ण विद्यार्थीलाई नेविसंघको सदस्य बनाउनुपर्नेमा जोड

481
Shares

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धनको शक्ति देखेर एमाले अध्यक्ष केपी ओली थरथरी कामेको बताउनुभएको छ ।

मंगलबार नेपाल विद्यार्थी संघको ५३औं स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले गठबन्धनको शक्ति देखेर नेकपा(एमाले)का अध्यक्ष केपी ओली थरथरी कामेको बताउनुभएको हो ।

सत्तारुढ गठबन्धनबाट हतास भएर ओली प्रतिगामी र अवसरवादी तत्वहरूसँग हातेमालो गर्न पुगेको उहाँले बताउनुभयो । वरिष्ठ नेता पौडेलले वर्तमान सत्तारुढ गठबन्धन सत्ताको लागि नभई व्यवस्थाको लागि बनेको बताउनुभयो ।

लोकतन्त्र, नेपालको परिवर्तनहरूलाई बचाउनका लागि र देशलाई अग्रगामी बाटोमा रुपान्तरण गर्नका लागि गठबन्धन बनेको उहाँले स्पष्ट पार्नुभयो । उहाँले गठबन्धनका दलहरूले आ–आफ्नो हैसियत र दायित्व बुझेर आगामी निर्वाचनहरूसम्म एकतावद्ध भएर जानुपर्ने बताउनुभयो ।

‘यो गठबन्धन शेरबहादुरलाई प्रधानमन्त्री बनाउनको लागि मात्र होइन, यो गठबन्धन नेपालमा लोकतन्त्र बचाउनको लागि र नेपालको परिवर्तन बचाउनको लागि, नेपाललाई अग्रगामी बाटोमा रुपान्तरण गर्नको लागि हो,’ उहाँले भन्नुभयो, ‘गठबन्धनको अहिले शक्ति देखेर केपी ओली थरथरी काँपेका छन्, हतास अभिव्यक्ति दिइरहेका छन् र प्रतिगामी र भ्रष्ट तत्वहरूसँग हातेमालो गर्न पुगेका छन् ।’

वरिष्ठ नेता पौडेलले नेविसंघलाई पदाधिकारीसहितको कमिटी बनाएर पूर्णता दिनुपर्नेमा जोड दिनुभयो । आठ कक्षा भन्दा माथिका सम्पूर्ण विद्यार्थीलाई नेविसंघको सदस्य बनाएर प्रजातन्त्रको पहरेदार जन्माउनुपर्ने उहाँको भनाइ थियो ।