२ चैत्र २०८१, शनिबार | Sat Mar 15 2025


म्याग्दीमा सबस्टेशन निर्माण सुरु


221
Shares

काठमाडौं । म्याग्दीको मालिका गाउँपालिका–७ डाँडाखेतमा १३२ केभी क्षमताको सबस्टेशन निर्माण सुरु भएको छ ।

नेपाल विद्युत प्राधिकरणले डाँडाखेतबाट रघुगङ्गा गाउँपालिका–३ अम्वाङ जोड्ने प्रसारण लाइन र दुवै ठाउँमा सबस्टेशन निर्माण थालेको हो । मालिका–७ का वडाध्यक्ष रेशम जुग्जालीले डाँडाखेतमा सबस्टेशन बनाउन जग्गा सम्याउने काम सुरु भएको जानकारी दिनुभयो ।

सन् २०२१ को डिसेम्बर ३१ मा भारतीय कम्पनी लार्सन एण्ड टियुब्रो (एलएनटी)सँग सबस्टेशन र प्रसारण लाइन निर्माणका लागि ठेक्का सम्झौता भएको थियो । आयोजना प्रमुख रोशन अग्रवालले सम्झौता लगत्तै डिजाइन सकेर ठेकेदारले प्रारम्भिक चरणको पूर्वाधार निर्माण थालेको बताउनुभयो । आयोजनाको ठेक्का अवधि ३० महिनाको छ ।

म्याग्दीको पश्चिमी क्षेत्र भएर बग्ने म्याग्दी र मध्य भूगोलबाट बग्ने राहुघाट तथा आसपासका नदीमा निर्माणको चरणमा रहेका जलविद्युत आयोजनाबाट उत्पादित विद्युत केन्द्रीय प्रसारण लाइनमा जोड्न प्रसारण लाइन र सबस्टेशन बनाउन लागिएको हो । पच्चीस किलोमिटर दूरीको १२ केभी क्षमताको डबल सर्किट प्रसारण लाइनको ९० टावर निर्माण हुनेछन् । डाँडाखेत सबस्टेशनमा १३३/३३ केभी, ३० एमभिए क्षमता र एआइएस प्रविधिको उपकरण जडान गरिनेछ ।

त्यस्तै,२२०/१३२/३३ केभी, २०० एमभिए क्षमताको उपकरण जडान हुने राहुघाट सबस्टेशन जिआइएस प्रविधिको हुने आयोजना प्रमुख अग्रवालले बताउनुभयो ।