१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


सर्वोच्चको आदेश समग्र प्रणालीको पक्षमा आयो : गभर्नर अधिकारी


169
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सर्वोच्च अदालतको आदेश समग्र प्रणालीको पक्षमा आएको बताउनुभएको छ ।

सर्वोच्च अदालतको आदेशबाट निलम्बन फुकुवा भएसँगै मंगलबार राष्ट्र बैंक पुगेका गभर्नर अधिकारीले अदालतको आदेश समग्र सिस्टमका पक्षमा आएको बताउनुभयो ।

उहाँले निलम्बन पछिका दिनमा आफ्नो पक्षमा भन्दा पनि समग्र प्रणालीका पक्षमा बोलिदिनेहरूप्रति आभार व्यक्त गर्नुभयो ।

सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश प्रणालीको पक्षमा आएको भन्दै गभर्नर अधिकारीले आगामी दिनमा आउने आदेश पनि आफ्नो पक्षमा आउने आशा व्यक्त गर्नुभयो ।

आगामी दिनमा आफूले पेश गरेको निवेदनमाथि थप सुनुवाइ गर्दैजाँदा नेपाल राष्ट्र बैंक, केन्द्रीय बैंकको स्वायत्तता, मौद्रिक नीति, मौद्रिक स्थायित्व, आर्थिक स्थायित्व सम्बन्धमा यसरी नै सन्देशहरू आउने आशा राखेको अधिकारीले बताउनुभयो ।

गभर्नर अधिकारीले आफू एउटा माध्यम मात्रै भएको बताउनुभयो । अर्थमन्त्रालय र राष्ट्र बैंकबीचमा गरिने काममा कुनै किसिमको आग्रह र पूर्वाग्रह राखेर नगर्ने बताउनभयो ।

चैत २४ गते मन्त्रिपरिषद् बैठकले गभर्नर अधिकारीलाई निलम्बन गरेको थियो । गभर्नर अधिकारीविरुद्ध विभिन्न आरोप लगाउँदै मन्त्रिपरिषद्ले पूर्व न्यायाधीशको अध्यक्षतामा छानबिन समिति गठन गरेसँगै निलम्बनमा पर्नुभएको थियो ।

गभर्नर अधिकारीले वैशाख ४ गते आइतबार सर्वोच्च अदालतमा रिट निवेदन दिएका दिनुभएको थियो ।

गभर्नर अधिकारीको निवेदनमा सुनुवाइ गर्दै न्यायाधीश हरिप्रसाद फुयाँलले इजलासले सरकारको निर्णय कार्यान्वयन नगर्न र गभर्नरका रूपमा काम गर्न दिन मंगलबार अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।

निवेदनमाथि वैशाख १३ गते अन्तरिम आदेशका लागि सुनुवाइ गर्न पेशी तोकिएको छ ।