
काठमाडौं । साझा प्रकाशनले नयाँ वर्ष २०७९ को अवसरमा गरेको विशेष पुस्तक प्रदर्शनी जारी छ ।
साझाले वैशाख १ गतेदेखि देशभर विशेष पुस्तक प्रदर्शनी गरेको छ । प्रदर्शनीमा साझाले प्रकाशन गरेका पुस्तकहरू विशेष छुटका साथमा बिक्री भइरहेको छ ।
पाठकले खोजेका विभिन्न विधाका पुस्तकहरु पाठकको हातमा पु¥याउने उद्देश्यले प्रदर्शनीको आयोजना गरिएको साझा प्रकाशनका प्रवक्ता होमनाथ भट्टराईले बताउनुभयो ।
प्रदर्शनी काठमाडौं उपत्यकाभित्र साझा प्रकाशनको केन्द्रीय कार्यालय पुल्चोक, प्रदर्शनी मार्गमा र प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा प्रज्ञा प्रतिष्ठानमा रहेको उहाँले बताउनुभयो ।
त्यसैगरी देशभरमा रहेका साझा प्रकाशनको शाखा कार्यालयहरु धरान, बिर्तामोड, विराटनगर, राजविराज, जनकपुर, त्रिशुली, चितवन, भरतपुर, दाङ, बुटवल, पोखरा र धनगढीमा समेत प्रदर्शनी रहेको उहाँले जानकारी दिनुभयो ।
प्रदर्शनीमा सस्तोमा पचास पैसादेखि महङ्गोमा २८ सय रुपैयाँसम्मका पुस्तकहरू पाइने उहाँले बताउनुभयो । विशेष पुस्तक प्रदर्शनी वैशाख १५ गतेसम्म चल्ने साझा प्रकाशनले जनाएको छ ।
प्रदर्शनीमा २०६० सालसम्म प्रकाशित पुस्तकहरूमा ५० प्रतिशत छुट, २०७० सालसम्म प्रकाशित पुस्तकमा ३५ प्रतिशत छुट, ७१ सालसम्म प्रकाशित पुस्तकहरूमा ३० प्रतिशत छुट र गरिमा मासिक पत्रिकालाई ८० प्रतिशत छुटमा बिक्री गरिएको साझा प्रकाशनले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्