५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


निर्वाचनका लागि १ करोड १९ लाख मतपत्र छापियो

‘सर्वोच्चबाट मुद्दाको फैसला आइसकेको छैन’

416
Shares

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि १ करोड १९ लाख मतपत्र छापिसकेको जनाएको छ । बिहीबारसम्म ५३ जिल्लाका लागि मतपत्र छापिएको छ ।

आयोग प्रवक्ता शालिग्राम शर्मा पौडेलले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मतपत्र छपाइको काम भइरहेको बताउनुभयो । सुरुमा दुर्गमका जिल्लाका लागि र पछि सुगमका जिल्लाका लागि मतपत्र छपाइको काम भइरहेको आयोगले जनाएको छ ।

दुर्गमका लागि छापिएका मतपत्र सुरक्षासहित सुरुमा नै ढुवानी गर्नुपर्ने भएकाले सुरुमा छापिएको हो । आयोगले स्थानीय तह निर्वाचनका लागि १ करोड ९४ लाख थान मतपत्र छाप्ने तयारी गरेको छ । यसपटक स्थानीय तहमा मतदाता संख्या १ करोड ७७ लाख ३३ हजार ७२३ रहेका छन् ।

आयोगले निर्वाचनको पर्यवेक्षण गर्न ४४ वटा संस्थालाई अनुमति दिएको छ । ती संस्थाका करिब १० हजार बढी पर्यवेक्षक तोकिएको मतदानस्थलमा पुगेर पर्यवेक्षण गर्न अनुमति दिइएको आयोगले जनाएको छ ।

उनीहरुले आफ्नो मतदाता नामावली रहेको मतदानस्थलमा भने पर्यवेक्षण गर्न नपाउने प्रवक्ता पौडेलको भनाइ छ । स्थानीय तहको निर्वाचनसम्बन्धी सर्वोच्च अदालतले गरेको एक मुद्दाको निर्णय दुई दिन बितिसक्दासमेत निर्वाचन आयोगमा नपुगेको आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्माले स्थानीय तह सदस्यको निर्वाचनमा उम्मेदवार हुने व्यक्तिले मनोनयनपत्र दाखिला गर्दा पेश गर्नुपर्ने कागजातको विवरण बारे निर्वाचन आयोगको वेबसाइटमा समावेश गरिएको बताउनुभयो ।