
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक लीलाप्रसाद शर्माले अवाञ्छित रूपमा मूल्यवृद्धि गर्ने फर्म तथा व्यक्तिहरूलाई तत्काल कारबाही गर्ने चेतावनी दिनुभएको छ ।
बिहीबार विभागमा पत्रकार सम्मेलन गर्दै महानिर्देशक शर्माले पछिल्लो समय अत्यधिक मात्रामा मूल्यवृद्धि र वस्तु अभावको गुनासो बढेकाले आयातकर्ता, वितरक, खुद्रा वितरकहरूले काबुबाहिरको परिस्थिति देखाएर सहज हुँदा–हुँदै पनि मूल्यवृद्धि गरेको विषयमा अध्ययनपछि तत्काल कारबाही गर्ने तयारी गरिएको बताउनुभयो ।
मूल्यवृद्धि नियन्त्रण तथा बजार अनुगमनलाई प्रभावकारी बनाउनको लागि स्थानीय सरकार र प्रदेश सरकारसँग समन्वय गरेर अनुगमनलाई प्रभावकारी बनाउने उहाँको भनाइ छ । आफू विभागमा आएपछि बजार अनुगमनको लागि दैनिक ४ टोली बनाएर बजारमा पठाएको उहाँले बताउनुभयो ।
महानिर्देशक शर्माले पेट्रोलियम पदार्थको मूल्यवृद्धि विगत एक वर्षमा औसतमा ३० देखि ४० प्रतिशत मूल्यवृद्धि भएता पनि विभागको नियन्त्रण भन्दा बाहिर रहेको बताउनुभयो । अब विभागबाट हुने सम्पूर्ण काम उपभोक्ताले अनलाइन प्रणाली मार्फत गर्न सक्ने बनाउन सुरु गरिएको महानिर्देशक शर्माको भनाइ छ ।
विभागले चालु आर्थिक वर्षको अहिलेसम्मको अवधिमा २ हजार १ सय ८७ व्यापारीक फर्महरूलाई अनुगमन गरी कैफियत देखिएका १ हजार १२ फर्महरुलाई कारबाही गरेको जानकारी दिएको छ ।
त्यस्तै, विभागले १ हजार १२ फर्महरूलाई कारबाही गरे वापत् १ करोड १८ लाख ८७ हजार ५०० सय रुपैयाँ जरिवाना गरिएको बताएको छ । विभागले अनुगमनको क्रममा अनुचित व्यापारिक क्रियाकलाप भएको पाइएमा उपभोक्ता संरक्षण ऐन तथा प्रचलित कानून बमोजिम जरिवाना तथा सजाय गर्ने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्