१ बैशाख २०८२, सोमबार | Mon Apr 14 2025


यस्तो बन्यो एमालेको नयाँ पार्टी कार्यालय


3.016k
Shares

काठमाडौं । नेकपा (एमाले) आज (शुक्रबार)बाट नयाँ भवनमा सरेको छ ।

थापाथलीस्थित भाडाको घरमा कार्यालय स्थापना गरेको एमाले आजबाट ललितपुरको च्यासलस्थित नयाँ पार्टी कार्यालयमा सरेको हो ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले शिलापत्र अनावरण गर्दै पार्टी कार्यालयको औपचारिक उद्घाटन गर्नुभएको छ । नयाँ पार्टी कार्यालय पाँच वर्षका लागि अनुबन्धित गरिएको हो । त्यसका लागि तुल्सीलाल स्मृति प्रतिष्ठानसँग अनुमति मागिएको एमाले उपमहासचिव विष्णुप्रसाद रिमालले जानकारी दिनुभयो ।

वार्षिक रूपमा निश्चित रकम प्रतिष्ठानलाई दिइनेगरी सम्झौता गरिएको उहाँको भनाइ छ ।

नयाँ कार्यालय भवनलाई प्रविधिमैत्री बनाइएको छ । फराकिलो पार्किङ क्षेत्र र आकर्षक बगैंचा रहेको नयाँ पार्टी कार्यालयको भुइँ तलामा कार्यालय सचिवको कार्यकक्ष र स्वागतकक्ष राखिएको छ ।

त्यस्तै पहिलो तलामा केन्द्रीय सल्लाहकार परिषद्, संगठन विभाग, प्रचार तथा प्रकाशन विभाग, परराष्ट्र मामिला विभाग प्रमुखसँगै महासचिव र अध्यक्षको कार्यकक्ष राखिएको छ । सोही तलामा पुष्पलाल स्मृति हल पनि बनाइएको छ ।

त्यस्तै दोस्रो तलामा केन्द्रीय विभागहरू, सचिवको क्याविन, निर्वाचन आयोग, लेखा आयोग, अनुशासन आयोगका प्रमुखसँगै वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरू, उपमहासचिवका कार्यकक्ष पनि बनाइएको छ ।

सबैभन्दा माथिल्लो तलामा अध्यक्षको कार्यकक्ष बनाइएको छ । त्यस्तै उपाध्यक्ष र महासचिवको कार्यकक्ष पनि सबैभन्दा माथिल्लो तलामा बनाइएको छ ।

पश्चिमपट्टी बनाइएको हलबाट अध्यक्षले लाइभ सम्बोधन गर्ने व्यवस्था मिलाइएको छ । अत्याधुनिक सूचना प्रविधिको विकास गरेर बनाइएको हलबाट पार्टी अध्यक्षले लाइभ सम्बोधन गर्ने रिमालको भनाइ छ ।