१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


नौ महिनाको व्यापार घाटा १३ खर्ब माथि, १ खर्ब ६० अर्बको मात्र निर्यात


156
Shares

काठमाडौं । चालु आर्थिक वर्षको ९ महिना अर्थात् चैत्र मसान्तसम्म मुलुकको व्यापार घाटा १३ खर्ब माथि पुगेको छ ।

यस अवधिमा नेपालको निर्यात अघिल्लो वर्षको तुलनामा उल्लेख्य बढे पनि अत्यधिक आयातका कारण व्यापार घाटा उच्च रहेको हो ।

भन्सार विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो नौ महिनाको तथ्याङ्कअनुसार १४ खर्ब ६६ अर्ब बढीको आयात र निर्यात भने एक खर्ब ६० अर्ब बराबर हुँदा व्यापार घाटा १३ खर्ब ७ अर्ब बराबर पुगेको हो ।

यस अवधिमा आयात ३२ प्रतिशत बराबरले र व्यापार घाटा २८ प्रतिशतले बढेको हो । अघिल्लो महिनाको तुलनामा भने आयात वृद्धिदर केही घटेको हो । फागुनसम्म आयात ३८ प्रतिशतले बढेको विभागको तथ्याङ्क छ ।

अघिल्लो वर्षको यसै अवधिमा व्यापार घाटा १० खर्ब १६ अर्ब रहेको थियो । यस अवधिमा निर्यात अघिल्लो वर्षको यसै अवधिको तुलनामा ६९ प्रतिशतले बढेर १ खर्ब ६० अर्ब पुगे पनि अत्यधिक आयातका कारण वैदेशिक व्यापार धान्न नसकेको हो ।

गत आर्थिक वर्षको यसै अवधिमा नेपालबाट ९४ अर्ब ७६ करोड बराबरको सामान निर्यात भएको थियो । यस अवधिमा दुई खर्बको त पेट्रोलियम पदार्थमात्र आयात भएको विभागको तथ्याङ्क छ ।

नेपालले डिजेल, पेट्रोल र खाना पकाउने एलपी ग्यास गरी १ खर्ब ९८ अर्ब बढीको पेट्रोलियम पदार्थको आयात गरेको हो । नेपालको आयात निर्यात अनुपात ९ दशमलब १३ रहेको छ ।