२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


निर्माण व्यवसायीले आइतबारदेखि कन्ट्रक्शन होलिडे गर्ने


637
Shares

काठमाडौं । निर्माण व्यवसायीहरूले आउँदा आइतबारदेखि अत्यावश्यक काम बाहेक सम्पूर्ण निर्माण कार्यहरू बन्द गरी कन्ट्रक्शन होलिडे गर्ने भएका छन् ।

विभिन्न निर्माण सामाग्रीहरूमा अप्रत्यासित रूपमा अत्याधिक मूल्यवृद्धि भएको र यस्तो मूल्यवृद्धि नरोकिएसम्म निर्माण कार्य सञ्चालन गर्न नसक्ने भन्दै निर्माण व्यवसायीहरूले आइतबारदेखि अत्यावश्यक बाहेकका निर्माण कार्य बन्द गरी कन्ट्रक्शन होलिडे गर्ने भएका हुन् ।

शुक्रबार काठमाडौं नेपाल निर्माण व्यवसायी महासंघले पत्रकार सम्मलेन गरी मूल्य समायोजन मार्गदर्शन नं–२ तत्काल जारी गर्न पटक–पटक आग्रह गर्दा समेत सरकारले सम्बोधन नगरेपछि बाध्य भएर सम्पूर्ण निर्माण कार्य बन्द गरी आन्दोलनमा जानु परेको जनाएको हो ।

महासंघका अध्यक्ष रवि सिंहले विदेशी मुद्राको अभावले गर्दा निर्माण सामग्री आयात गर्न समस्या भएको साथै बैंकहरूले पनि लगानी नगरिरहेको कारण निर्माणको गतिविधि गर्नुपर्ने समयमा गति बढाउन नसकेको बताउनुभयो । उहाँले मूल्य समायोजन मार्गदर्शन तत्काल जारी गर्न माग समेत गर्नुभयो ।

यस्तै, महासंघले आउँदो १३ गते मंगलबारदेखि आफ्ना ७७ जिल्ला संघहरूले जिल्ला प्रशासन कार्यालय र ७ वदै प्रदेश महासंघहरूले मुख्यमन्त्रीको कार्यालय प्रत्यक दिन एक घण्डा धर्ना गर्ने पनि जानकारी दिएका छन् ।

महासंघले बिहीबार ताहाचलस्थित सार्वजनिक खरिद अनुगमन कार्यालय र कुपण्डोलस्थित बीमा समितिको कार्यालयमा पनि एक घण्टा धर्ना दिएका थिए ।

निर्माण व्यवसायीहरूले निर्माण उद्योगमा पछिल्लो समय निर्माण सामग्रीहरुमा भएको अत्याधिक मूल्यवृद्धि, सार्वजनिक खरिद नियमावलीको एघारौं संशोधनका केही त्रुटिपूर्ण बुँदा, बीमा निर्देशिका २०७८ का प्रवाधान लगायतका कारण निर्माण व्यवसाय धराशायी बन्दै गएको भन्दै गुनासो गर्दै आएका छन् ।