१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नौवस्ता औद्योगिक क्षेत्रको जग्गा अतिक्रमण, काम सुरु नहुँदा बन्यो २ सय ६८ घरटहरा


182
Shares

बाँके । जिल्लाको नौवस्ता औद्योगिक क्षेत्रको जग्गा अतिक्रमणको जोखिममा पर्दै गएको छ ।

शिलान्यास भएको एक वर्ष बितिसक्दा पनि नौवस्ता औद्योगिक क्षेत्र परियोजनाको काम सुरु हुन नसक्दा जग्गा संरक्षणमा चुनौती देखिएको हो ।

२०७७ फागुन ११ गते तत्कालीन उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले औद्योगिक क्षेत्र शिलान्यास गर्दा उत्साहित भएका यहाँका उद्योगी १३ महिना बितिसक्दासमेत कुनै काम सुरु नहुँदा निराश बनेका छन् ।

औद्योगिक क्षेत्र निर्माणस्थल बैजनाथ गाउँपालिका–३ मा छुट्याइएको ३ सय ३८ बिघा क्षेत्रफल जमिनभित्रै २ सय ६८ स्थानीयले घर टहरा बनाएका छन् ।

उनीहरूको अवरोधकै कारण निर्माण कार्य सुरु गर्न नसकिएको नेपालगञ्ज औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख कृष्णबहादुर पुनले बताउनुभयो । उहाँका अनुसार काम सुरु नहुँदा औद्योगिक क्षेत्रको जमिनमा घरटहरा थपिने जोखिम बढेको छ ।

औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयको तथ्याङ्कमा २ सय ६८ घर टहरा रहे पनि त्यहाँ बसोबास गर्दै आएका स्थानीयले त्यो सङ्ख्या बढेको दाबी गर्दै आएका छन् ।

६ वर्ष बितिसक्दासम्म परियोजनाको डीपीआर र इआइएबाहेक अरू कुनै काम गर्न नसकिएको नेपालगञ्ज औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख पुनले बताउनुभयो ।