
काठमाडौं । काठमाडौं उपत्यकामा मेलम्ची खानेपानी पुनः वितरण सुरु गरिएको छ ।
आज आइतबार काठमाडौंमा खानेपानी मन्त्री उमाकान्त चौधरीले एक कार्यक्रमका बीच मेलम्ची खानेपानीको पुनः वितरण शुभारम्भ गर्नुभएको हो ।
मेलम्ची खानेपानी २०७७ साल चैत्र दोस्रो हप्तादेखि काठमाडौं उपत्यकामा वितरण सुरु भएको भएपनि २०७८ असार १ गते मेलम्ची नदीमा आएको बाढी, पहिरोले खानेपानी आयोजनाको संरचनामा क्षति पुगेपछि पानी वितरण बन्द भएको थियो ।
अब प्रतिदिन १७ करोड लिटर खानेपानी उपत्यकामा वितरण गरिने खानेपानी मन्त्रालयले जनाएको छ ।
खानेपानी मन्त्री चौधरीले मेलम्ची खानेपानी आयोजनाको दिर्घकालिन सञ्चालनका लागि आवश्यक कार्ययोजना बनाई कार्यान्वयन गरिने बताउनुभयो । एसियाली बिकास बैंकले मेलम्चीमा आएको बाढी र पहिरोको क्षतिको विवरण र त्यसको कारण र स्थायी समस्या समाधानका उपायका लागि अध्ययन गरिरहेको छ । उक्त प्रतिवेदन प्राप्त भएपछि आवश्यक प्रक्रिया अगाडि बढाइने उहाँको भनाइ छ ।
उहाँले वर्षा याममा मेलम्ची नदीमा बाढी आएमा पूर्व सुचना दिनका लागि अर्ली एलर्ट मसिन जडान गरिएको बताउनुभयो । उहाँले वर्षायाममा मेलम्चीको पानीको विकल्पको रुपमा बागमती नदिको पानी शुद्धिकरण गरी ल्याउने प्रक्रिया अगाडि बढाइएको पनि जानकारी दिनुभयो ।
मन्त्री चौधरीले प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)का अध्यक्ष केपी ओलीलाई मेलम्चीको पानी पिउन आग्रह गर्नुभएको छ । ओलीले वर्तमान सरकारले कुनै हालतमा मेलम्चीको पानी काठमाडौं उपत्यकामा ल्याउन सक्दैन भनेर सार्वजनिक अभिव्यक्ति दिएको प्रति लक्षित गर्दै उहाँले ओलीलाई मेलम्चीको शुद्ध पानी शुद्ध छ कि अशुद्ध छ अनुभव लिनका लागि पिउन आग्रह गर्नुभएको हो ।
उहाँले खानेपानीको नाममा राजनीति नगर्न प्रमुख प्रतिपक्षी दललाई आग्रह समेत गर्नुभएको छ । मन्त्री चौधरीले वर्षाको पानी संकलन, जलाधार संरक्षण गरी पानीको मुल फुटाउ अभियान र पानीको गुणस्तर परिक्षण अभियान सञ्चालन गर्न मन्त्रालयले कार्ययोजना तयार गरी अघि बढ्ने नीति लिएको स्पष्ट पार्नुभयो ।
प्रतिक्रिया दिनुहोस्