८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


प्रिय डाक्टर, तपाईंहरुको हिरोइज्जम देशको अपेक्षा हो


403
Shares

प्रिय डाक्टर ,
संग्रामी अभिवादन
सर्वप्रथम यो स्पष्ट गर्न चाहन्छु मेरो डाक्टर सम्बोधन भित्र समस्त स्वास्थ्यकर्मी, मेडिकल साइन्सका सबै तह र तप्काका शिक्षार्थीदेखि, कतिपय ननमेडिकल सेक्टर पनि ,पचासौं हजार स्वास्थ्य स्वयंसेविकासम्म जनस्वास्थ्यको लागि अहोरात्र खट्ने तमाम ज्ञात अज्ञात स्वास्थ्य सेवासँग जोडिएका माहानुभावहरु पर्नुहुन्छ । औसधि उत्पादक अनि वितरकसम्म सुरक्षाकर्मीदेखि कर्मचारीसम्म यो लाइनका हिस्सेदार बनाएको छु । उपचार गर्ने, उपचारको लागि बातावरण बनाउने सबै, सबै हाम्रा लागि डाक्टर हुन । तसर्थ सम्बोधनमा सजिलोको लागि डाक्टर उल्लेख गरिएको हो ।

हामी, विश्व नै यतिबेला कोरोनारुपी आतंककारी प्राणघातक अदृश्य महाशत्रुसँग लडिरहेका छौं । लडाईंको अग्रमोर्चामा तपाई स्वास्थ्यकर्मीहरु हुनुहुन्छ । सुरक्षा निकायका व्यक्तिहरु दोस्रो घेरामा रहनुहुन्छ । स्वास्थ्य प्रदायक निकायहरु अनि घरहरु, स्थाई र अस्थाई क्वारेन्टाइन सबै मानव जातिका बंकरको रुपमा रहेका छन् । यो महामारीको महासंग्राममा फ्रन्ट लाइनमा बसेर युद्द गर्ने अथक योद्दाहरू, सम्पूर्ण स्वास्थ्यकर्मीहरु हाम्रा साक्षात भगवान हुन । भगवान सबै ठाउँमा एकैपटक पुग्न नसक्ने हुनाले तपाई डाक्टर, नर्सलगायत स्वास्थ्य सेवादिने व्यक्तिहरु भगवानको प्रतिनिधित्व गरेर मानव जोगाउन व्यस्त हुनुहुन्छ ।

तपाईहरुलाई हाम्रो सलाम, समर्थन, सद्भाव आदर र विश्वास छ । हामी सर्वसाधारण घर अर्थात बंकर भित्र रहेर युद्दरत छौं तर स्वास्थ्य सेवामा रहनु भएका तपाई स्वास्थ्यकर्मीहरु युद्दको अग्रमोर्चामा अत्यधिक खतरा मोलेर ज्यानको जोखिम मोल्दै सर्वजन हितायको मन्त्रसहित युद्द मैदानमा  लड्दै हुनुहुन्छ । सबै मान्छेलाई झैँ ज्यानको माया तपाईहरुलाई पनि छ । महा भुकम्प २०७२ मा स्वास्थ्यकर्मीले दिएको योगदान पनि हाम्रो विस्मृतिमा छैन । गर्वबोध छ हाम्रा स्वास्थ्यकर्मीहरु प्रती । 

तपाईहरुपनि कसैको मायालु छोराछोरी, कसैका आदरणीय अभिभावक, दाजुभाइ दिदीबहिनी, पतिपत्नी , प्रेमी प्रेमिका, साथीहरु आफन्त प्रियजन र आत्मीयजन हुनुहुन्छ । सबै संगै बसौं यो विपदको घडीमा एकअर्काको साथ रहौं भन्ने मानवीय भावना रहन्छ । आउँछ नै । तर डाक्टर साब यतिबेला सबै मनुष्यजगत तपाईहरुको आफन्तजन र प्रियजन भएको सम्झनुस डाक्टरको लागि बिरामी कहिले पो पराइ र शत्रु हुन्छ र ? आफ्नो गुरुत्तर दायित्व र भूमिका मानव सभ्यता जोगाउन रहेको मनमा लिनुस र कार्यक्षेत्रमा डट्नुस । पेशागत धर्ममा अब्बल देखिनुस ।

आज जुन आत्मवल र निष्ठाले लाग्नुभएको छ त्यसमा रत्तिभर कमी नहोस बरु अझ सक्रियता र तदारुकतामा वृद्दि होस् । तपाईहरुको उच्च आत्मवल र सुस्वास्थ्यको लागि हामी भगवानसँग विनित वेदनासहित प्रार्थना गर्दछौं । भगवानसँग कामना छ हाम्रा भगवानरुपी डाक्टरलाई तपाईले बचाउनुस उहाँहरु(  स्वास्थ्यकर्मीले) हामीलाई बचाउनु हुन्छ ।

प्रिय डाक्टरहरु, तपाईहरु यतिबेला सामान्य मान्छे मात्र भएको बिर्सनुस केवल भगवानको रुपमा आफुलाई उभ्याउनुस र मानव सभ्यता रक्षार्थ जो जहाँ हुनुहुन्छ तपाईको अघि जो बिरामी छ त्यो मेरो आफन्त हो भन्ने सम्झेर आफ्नो प्रियजनलाई उपचार गरेको अनुभूति गर्नुस । हामीलाई थाहा छ देशमा न्यून अस्पताल, न्यून उपकरण, न्यून स्वास्थ्य सामग्री मात्रै छ । यस्तोबेला तपाईहरुलाई जसरी पनि औसधोपचार गर भन्नु बिना हतियार युद्द जितेर आऊ, लडन जाउ भन्नु जस्तै हो तर हामीसँग अरु भरपर्दो विकल्प र उपाय पनि छैन । व्यक्तिगत सुरक्षा सामाग्री पिपीई, जस्तै ग्लोव्स, गगल्स, मास्क लगायत आधारभूत सामग्रीको अभावमा उपचार गर्न आफ्ना प्रियजन स्वास्थ्यकर्मी लाग्दा कति खल्लो र खिन्नता अनि कहाली लागेको छ त्यो हामीलाई थाहा छ । तर बाध्यता छ ।

मै हुँ भन्ने शक्ति सम्पन्न राज्य समेत यो सुक्ष्म जीवाणुसँग हायलकायल भएको बेला हाम्रो सरकारलाई गालीगलौज गरिरहनु पनि ठिक होइन । सरकार शासक प्रशासकलाई गाली गर्ने समयमा एक बिरामी तपाईंबाट सेवा पाएर रोग र भयबाट मुक्त बन्छ कमजोरी ,दृष्टिविहीनता र अनियमितताबारे पछि छलफल र समीक्षा गरौंला । सेवा र सुबिधाको शर्तबारे सोचौंला । पहिले बाँचौ, बचाऔं । हाम्रा सेनापति प्रधानमन्त्री गम्भीर अस्वस्थ हुनुहुन्छ त्यसैले यतिबेला जोकोही मान्छे युद्दरत सिपाही हो । तपाई डाक्टरहरु केवल सिपाही होइन सबैजना सेनापति हो, बहादुर योद्दा हो तसर्थ सिपाहीलाई युद्दको मैदानबाट भाग्ने छूट छैन र भाग्नु पनि हुन्न । जो भाग्छ, पलायन हुन्छ त्यो दण्डको भागीदार बन्छ । राजीनामा दिएर यतिबेला भाग्नुभयो भने तपाई बाच्न त सक्नु होला तर कर्तव्यच्युत भएको हीनताबोधले जुनीभर पिरोली रहन्छ र पुस्तौंसम्म पश्चातापले जलाई रहन्छ । कायरले मात्रै हो भाग्ने बहादुरले त संधै लडने हो ।

हामीसँग भएको सिमित श्रोत र साधनकै भरमा हामीले वीरतापूर्वक लडेर यो जीवाणुलाई परास्त गर्नुछ । मानवीय संकटको घडीमा हिम्मतले खट्ने डाक्टरहरु सामान्य योद्धा मात्र होइन, धर्म योद्धा र महायोद्धाहरु हुन । डाक्टरले पाउने यो सम्मान र इज्जत कहिल्यै कमी हुँदैन । मानवताको कुनै निश्चित आयू नहुने हुनाले मानवीय कर्ममा लाग्ने जोकोहीले पनि मर्यादाविहीन बनेर बस्नु पर्दैन । मानवता कहिल्यै नमर्ने हुनाले तपाइको कर्म संधै अजर र अमर हुनेछ । यो जैविक युद्ध हो जसले नदेखिने मानव बिनासक भाइरस, मान्छेको बिउ मास्ने जीवाणुलाई हराएर मानव रक्षा गर्नु छ । मानव रक्षा गर्ने मूल दायित्व डाक्टरहरुको हो । डाक्टर नै लड्न छोडेर भाग्ने हो भने लड्ने कसले ? मानव अस्तित्व जोगाउने जिम्मेवारी कसले लिने ?

त्यसैले प्लिज डाक्टर साहेब आफ्ना छोराछोरी डाक्टर बनेर देशको सेवा गर्नेछन भन्ने बाबु आमाको गौरवलाई बचाई राख्न पनि डाक्टरी धर्म जोगाउन पर्छ । खुट्टा लकपकाउनु हुन्न । कोरोना कमजोर भाइरस हो । यो लाग्ने बित्तिकै मरिदैन भन्नेकुरा डाक्टरलाई थाहा नभएर सर्वसाधारणलाई हुने कुरा भएन । इबोला , जीका, डेंगु, स्वाइन फ्लु, बर्ड फ्लु र सार्सको औषधि पत्ता लागेको र अरु प्रभावकारी अन्वेषण हुँदै गरेको स्थितिमा यो पनि मान्छेको काबु भन्दा बाहिर पक्कै जानेछैन । बिरामी र रोगीले डाक्टर देखेपछि सामान्य रोगले पीडित हुँदा समेत भगवान ठान्छन भने यो विश्व थर्काउने ब्याक्टेरियाले पीडित बन्दा डाक्टर भेट्दा त्यो जति महत्वपूर्ण पल र बाचिने अभिलाषा अरु के होला र ?

प्रिय डाक्टर साब, तपाईले प्रत्येक बाबुआमालाई भनिदिनुस कि तपाईले पत्रु खाना खाएर, खुवाएर आफ्नो र आफ्ना बालबच्चाको स्वास्थ्य माथि खेलवाड गर्नु भएको छ । हाम्रो भान्सामा बिगतदेखि पाक्दै आएको खाद्यान्न, औषधिजन्य मसला हट्नु  र सो स्थानमा बजारका पत्रु रेडिमेड खाना भित्रनुले हाम्रो रोग प्रतिरक्षात्मक क्षमतामा ह्रासः आएको कुरा खुलेर बताइदिनुस । हामीले गरेका गल्तीको रिभ्यु गरिदिनुस । ताकी रोग प्रतिरोधात्मक शक्तिको अभावमा कसैले अकालमा ज्यान गुमाउनु नपरोस । अर्को कुरा पनि भनिदिनुस कि कोरोना भाइरस लागेर मृत्य हुनेहरु दीर्घ रोगका शिकार भएका व्यक्तिहरु जस्तै मुटु रोग , मृगौला फेल भएका, क्यान्सर अन्तिम स्टेजम रहेका र एचआईभी एडसको औषधिले काम गर्न छाडेकाहरु अनि जेष्ठ नागरिकहरुको मृत्यु रेट हाइ भएकोले सबैले डराउनु पर्दैन । तर विशेष साबधान रहनुपर्छ । अर्को कुरा बिभिन्न समयमा आएको महामारी र प्रकोपमा सौभाग्यले नेपालीको मृत्युदर अत्यन्त न्यून छ । जुन संयोग हो । तर संयोगहरु फगत संयोग हुन् । कोरोनाको संक्रमण फैलने र नहुने कारण बन्दैनन् प्रमाण हुदैनन् ।

कोरोना विरुद्ध हालसम्म भएका सफलता र परीक्षणको आशालाग्दो उज्यालो पनि सेयर गरिदिनुस । कोरना परिक्षण किटको सफल प्रयोगपछि हाम्रै छिमेकी देश भारतले एकसय जना भन्दा बढी बिरामी सफल उपचार गरेर घर फर्काएको छ । हाम्रोमा पनि एकजना संक्रमित स्वास्थ्य लाभ गरेर घर गएको सफल उदाहरण छ । अन्य संक्रमित चार जना पनि तपाईहरु जस्ता डाक्टरको अथक प्रयासले बाच्न सफल हुनेछन । विश्वमा अहिलेसम्म एकलाख पचहत्तर हजार बिरामी निको भएको रेकर्ड छ । चीनमा महामारी करिब करिब नियन्त्रणमा छ । चीनले ठुलो मात्रामा औषधि टेस्ट किट र उपकरण निर्माण गरेर विश्वब्यापी सप्लाई गरेको छ । कोरिया र जापानले संक्रमणलाई आफ्नो नियन्त्रणमा राखेका छन् भने इजरायलका वैज्ञानिकहरुले कोरोना बिरुद्धको खोपमा प्रगति गर्दैछन यसर्थ डराउने मनोविज्ञान त्याग्न सबैलाई अनुरोध गर्नुस । औसधि छिटो पत्ता लाग्छ भन्ने ढाडस प्रदान गर्नुस ।

मलाई यहीनेर एउटा कुराले ध्यान खिच्यो र चित्त दुखायो, स्तब्ध बनायो पनि । आम सर्वसाधारण जसको घरमा डाक्टर नर्सलगायत स्वास्थ्य सेवासँग आवद्ध व्यक्तिहरु बस्नुहुन्छ । उहाँहरुलाई कोरोना सार्ने माध्यम भनेर कतिपय घरवालाले डेरा छोड्न भनेको र मानसिक दबाब दिने कुरा गरेको पनि सुनियो यो घोर अमानवीय पक्षसँग नडराउन र संयमता नगुमाउन स्वास्थ्य सेवामा रहने र घरवालालाई अनुरोध छ । आफ्नो ज्यान जोखिममा राखेर अहोरात्र खट्ने डाक्टर लगायतलाई दिइने कष्ट र तनाव प्राण हरण गरे जत्तिकै महापाप् र दण्डनीय अपराध हो । बिरामीको इलाज गर्ने महामानवलाई विषम परिस्थितिमा घर छोड्न दवाब दिनेको भविष्य र उद्देश्य पक्कै सुखद हुदैनन् । हेक्का राख्नुस अभिलेख राखेर राज्यले तपाईलाई अनागरिक बनाउन सक्छ । मानवता बिर्सनेहरु कहिल्यै मानवीय सुचिमा पर्दैनन् ।

प्रिय डाक्टर, तपाईको बिमा, तपाईको सुरक्षा र पारिवारिक भविष्य अब पूर्णतय राज्यले बहन गर्नेछ, गर्नुपर्छ । राज्यले नीति बनाउँदै पनि छ । त्यसैले मानवीय धर्ममा आफ्नो श्रम ,सिप र समय दिनुस देश संक्रमणको जोखिमबाट मुक्त भएपछि जनस्तरबाट के गर्नुपर्छ त्यो हामी दिन तयार छौं ।

प्रिय डाक्टरहरु, जो संसारभर रहनु भएको छ सबैप्रति हाम्रो उच्च सम्मान र भरोषा छ तपाईहरु जो जहाँ हुनुहुन्छ त्यहाँ मानवीय सेवा गर्न र चिकित्सकीय धर्म पालन गर्न चुक्नु हुनेछैन । मानवीयताको कुनै घेरा, सीमा र छुट्टै भूगोल हुँदैन जसलाई बचाउनु हुन्छ । जसको सेवा गर्नुहुन्छ त्यो तपाईको आफ्नै मान्छेको प्रतिबिम्ब हुनेछ । कारण यहाँ पनि देश परदेशका डाक्टरहरुले हाम्रो लागि आफ्नो जीवन दाउमा लगाएर सेवारत छन । मानवतावाद भन्दा ठुलो र व्यापक अर्को वाद, धर्म र परिभाषा छैन । सेवा जहाँ गरेपनि जसलाई गरेपनि त्यसले दिने आत्मासन्तुष्टि र प्रतिफल उही र उस्तै हुन्छ । सम्पूर्ण विश्वले कल्याणकारी हिरोइज्जम्  खोजेको छ । जुन हिरोइज्जम् सम्पूर्ण मानवमा हुनुपर्छ झन् स्वास्थ्यकर्मी अनुसन्धानदाता र वैज्ञानिकहरुले आफूलाई कुशल हिरो बनाउन सुयत्न गरुन ।  तपाईहरु सबैको आत्मवल उच्च रहोस सु-स्वास्थ्यको कामना ।
हितेच्छुक
संजिव कार्की