
काठमाडौं । कञ्चनजङ्घा हिमाल आरोहणका लागि ४७ आरोही आधार शिविर पुगेका छन् ।
दक्षिणी र उत्तरी पदमार्ग हुँदै आरोही कञ्चनजङ्घा आधार शिविर पुगेका हुन् । दक्षिणी पदमार्ग हुँदै ३६ आरोही कञ्चनजङ्घा आधार शिविर पुगेको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् तापेथोक जाँचचौकीले जनाएको छ ।
आधार शिविरमा भारतका पाँच, जर्मनी, अस्ट्रेलिया र नेदरल्याण्डका तीन–तीन, रोमानिया र क्यानडाका दुई–दुई र अमेरिकाका एक जना पुगेका छन् । केही आरोहीले गत साता नै आधार शिविर पुगेर आरोहणको तयारी थालेका छन् ।
यस्तै उत्तरी पदमार्ग हुँदै रोमनियाका ६ र बेलायतका पाँच आरोही आधार शिविरमा पुगेको याम्फुदनि जाँचचौकीले जनाएको छ । लामो समयपछि आरोहीहरू आरोहणमा आउँदा व्यवसायीहरू पनि उत्साहित भएका छन् ।
कञ्चनजङ्घा आउने पर्यटकलाई लक्षित गरेर ठूलो लगानीमा होटल तथा पर्यटन आवास निर्माण गरिएको छ । कोरोनाका कारण पर्यटक नआएपछि होटल तथा पर्यटन व्यवसाय ठप्प रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्