
काठमाडौं । गायक प्रमोद खरेल चढेको कार दुर्घटनामा परेको छ । दाङको तुलसीपुरमा हुने कार्यक्रमका सहभागी हुन होटेलमा जानेक्रममा बुधबार साँझ आयोजकले चलाएको कार गम्भीर दुर्घटनामा परेको उनले बताए ।
‘हिजो साँझ काठमाडौंमा रेकर्डिङ सकेर नेपालगञ्जको फ्लाइटबाट दाङको तुलसीपुरमा हुने कार्यक्रमको लागि राति १ बजे होटल पुग्न १० मिनेट अघि मात्रै आयोजकले चलाएको कार गम्भीर दुर्घटनामा पर्यो,’ उनले लेखेका छन् ।
दुई जना आयोजक पनि घाइते भएको उनले जानकारी दिए । दुर्घटनामा परेपछि बेहोस भएका गायक खरेलको ४५ मिनेटमा होस खुलेको बताएका छन् । राति नै डिस्चार्ज भएर गायक खरेल काठमाडौं आएर सिटी स्क्यानलगायत सबै परीक्षणपछि अहिले आराम गरिरहेको उनले जानकारी दिए ।
उनका अनुसार बाहिरी चोट भए पनि आन्तरिक रुपमा कुनै समस्या नदेखिएको र विस्तारै सामान्य हुनेक्रममा रहेको गायक खरेलको भनाइ छ ।
दुर्घटनामा परेपछि गायक खरेलले दुई चार दिन रेकडिङसहितका सबै कार्यक्रम स्थगित गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्