
डडेल्धुरा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का युवा नेता ज्ञानेन्द्र शाहीले गठबन्धनका नामम ठूला दलका नेताहरूले देशलाई ५५ अर्बमा बिक्री गरिसकेको गम्भीर आरोप लगाउनुभएको छ ।
शुक्रबार डडेल्धुरामा सञ्चारकर्मीसँग कुरा गर्दैै प्रवक्तासमेत रहेका नेता शाहीले कांग्रेस र कम्युनिष्ट मिलेर देशलाई ५५ अर्बमा बेचेको आरोप लगाउनुभयो । एमसीसी सम्झौता गरेर ठूला दलले देश र जनताको टाउकाको मोल गरेको उहाँको भनाइ छ ।
नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र)मा विलिन भइसकेको सानो समूह मात्र भएको टिप्पणी गर्दै शाहीले प्रचण्ड कांग्रेसको नेता भएको बताउनुभयो । उहाँले राष्ट्र निर्माणको पार्टी राप्रपा मात्र भएकाले सही नेतृत्व चुन्नसमेत आग्रह गर्नुभयो ।
कुर्सीबाट बाहिरिने डरले कांग्रेस माओवादीको कब्जामा गएको शाहीको आरोप छ । कांग्रेस विपीको सिद्धान्तबाट विचलित भएको भन्दै उहाँले स्थानीय निर्वाचनमा अनैतिक साँठगाँठ गरेको बताउनुभयो ।
राप्रपा प्रवक्ता शाहीले कांग्रेसले कुनै विधि र कानुन नटेकी निवर्तमान जिल्ला सभापति कर्ण मल्ललाई तानाशाह शैलीबाट कारबाही गरेकेसमेत टिप्पणी गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्