१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


एन्फाद्वारा एनएसएललाई १५ भदौको मिति, आयोजक भन्छ– ‘अत्यधिक वर्षा हुन्छ’


169
Shares

काठमाडौं । विभिन्न प्रश्न र प्रतियोगिताको अस्तित्वकाबीच रोकिएको नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करणका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले नयाँ मिति तोकेको छ ।

एन्फाले बिहीबार चौधरी ग्रुपको स्वामित्वमा रहेको आयोजक नेपाल स्पोर्टस् एण्ड इभेन्टस् म्यानेजमेन्टलाई पत्र काट्दै १५ भदौदेखि २५ असोजसम्मका लागि नयाँ मिति दिएको हो ।

तर, आयोजकले यस समयमा अत्याधिक वर्षा हुने कारण देखाउँदै पूर्व निर्धारित समयमै प्रतियोगिता गर्न दिन आग्रह गरेको छ ।
‘हामीलाई एन्फाले बिहीबार नयाँ मिति दिएको छ । तर, त्यो समयमा अत्याधिक वर्षा हुने हुँदा पूर्व निर्धारित समय नै माग गरेका छौं,’ एनएसएल स्रोतले भन्यो ।

यसअघि आयोजकले २५ भदौदेखि ५ कात्तिकसम्म प्रतियोगिताको लागि अनुमति मागेको थियो । पहिलो संस्करण सफलतापूर्वक सम्पन्न भएको एनएसएल दोस्रो संस्करण भने विभिन्न विवादपछि स्थगित भएको थियो ।

एनएसएल सहभागी १० क्लबले ए डिभिजन लिग खेलिरहेका खेलाडीलाई नियमविपरीत मार्की खेलाडी घोषणा गर्नु र एन्फाले अक्सनसमेत रोक्न आग्रह गर्दा नरोकिएपछि प्रतियोगिता स्थगितसम्म पुगेको थियो ।

यसपछि ‘ए’ डिभिजन खेल्ने चार क्लबले एनएसएल प्रतियोगिताको आयोजना र अस्तित्वका विषयमा प्रश्न उठाएपछि विवाद सतहमा आउँदै स्थगित भएको थियो ।