२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


माओवादी कार्यकर्ताद्वारा सहमति विपरीतका उम्मेदवारी फिर्ता


1.339k
Shares

काठमाडौं । स्थानीय तह निर्वाचनमा नेकपा (माओवादी केन्द्र)का आधिकारिक उम्मेदवार तथा सत्तारुढ गठबन्धनमा भएको सहमतिविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका माओवादी केन्द्रका धेरैजसो कार्यकर्ताले मनोनयन फिर्ता लिएका छन् ।

सिन्धुपाल्चोकको चौतारा साँगागढी चोक नगरपालिकाको मेयर पदमा स्वतन्त्रतर्फबाट उम्मेदवारी दिएका अमान सिं तामाङले उम्मेदवारी फिर्ता लिनुभएको हो ।

उहाँले चौतारा साँगागढी चोक नगरपालिकाको मेयर पदमा आधिकारिक रुपमा माओवादी केन्द्रबाट उम्मेदवारी दिएका कृष्णप्रसाद सापकोटालाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिनुभएको हो ।

यस्तै, मकवानपुरको बकैया गाउँपालिकाको अध्यक्ष पदमा माओवादी केन्द्रबाट उम्मेदवारी दर्ता गराउनुभएकी लक्ष्मीमाया माझीले पनि मनोनयन फिर्ता लिनुभएको छ ।

उहाँले सत्तारुढ गठबन्धनका आधिकारिक उम्मेदवार कांग्रेसका धर्मराज लामिछानेलाई समर्थन गर्दै अध्यक्ष पदबाट मनोनयन फिर्ता गर्नुभएको हो ।

सत्तारुढ गठबन्धनको शुक्रबार बसेको बैठकले पनि गठबन्धनभित्र भएको सहमति विपरीत उम्मेदवारी दिएका कार्यकर्तालाई उम्मेदवारी फिर्ताका लागि आग्रह गरेको थियो ।