१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


१० खेलाडीले छाडेपछि फुटबलको बन्द प्रशिक्षणमा १७ खेलाडी भित्रिए

तत्काल बैठक बोलाउन एन्फाका तीन उपाध्यक्षको आग्रह

338
Shares

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले १७ जना नयाँ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छन् ।

बन्द प्रशिक्षणमा रहेका १० खेलाडीले प्रशिक्षण छाडेपछि अलमुताइरीले १७ नयाँ खेलाडीलाई अवसर दिएका हुन् । अलमुताइरीको कार्यशैलीमा असन्तुष्टि जनाउँदै १० खेलाडीले प्रशिक्षण छाडेर टिमबाट बाहिरिएका छन् ।

एसियन कप छनोट चरणको तयारीका प्रशिक्षणमा रहेका खेलाडीलाई एन्फा होस्टलमा नभइ होटलमा राख्नुपर्ने माग खेलाडीका तर्फबाट राखेका रोहित चन्दलाई अलमुताइरीले टोलीबाट निकालेपछि विवाद सुरु भएको थियो ।

अन्य ९ खेलाडीले रोहितका विषयमा छलफल गर्न खोज्दा अलमुताइरील उनीहरू पनि प्रशिक्षण छाडेर जान सक्ने बताएपछि विवाद झन चर्किएको थियो । १० खेलाडीले बिहीबार संयुक्त रूपमा पत्रकार सम्मेलन गर्दै घटना विवरण सार्वजनिक गरेका थिए ।

थप गरिएको १७ खेलाडीले बिहीबारबाटै प्रशिक्षण सुरु गरिसकेका छन् । अलमुताइरीले बोलाएका खेलाडीमा विकेश कुथु, अनिश चौधरी, निरकुमार राई, जर्ज प्रिन्स कार्की, विशाल सुनार, रूप बहादुर लामा लगायत छन् ।

यसैबीच, अखिल नेपाल फुटबल संघ (एन्फा)का तीन उपाध्यक्षले कार्यसमिति बैठक तत्काल बोलाउन माग गरेका छन् । राष्ट्रिय फुटबल टिमका खेलाडी र मुख्य प्रशिक्षकबीच उत्पन्न विवाद अत्यन्त संवेदनशील भएको उल्लेख गर्दै तीन उपाध्यक्षले एन्फाको कार्यसमिति बैठक तत्काल बोलाउन माग गरेका हुन् ।

वरिष्ठ उपाध्यक्ष पंकजबिक्रम नेम्वाङ, उपाध्यक्षद्धय कृष्णबहादुर थापा, वीरबहादुर खड्का सहित केन्द्रीय सदस्य दावा लामाले अत्यन्त संवेदनशील विषयमा तत्काल बैठक बसेर निर्णय गर्नुपर्ने भएकाले यथाशीघ्र बैठक बोलाउन अनुरोध गरेका हुन् ।