
काठमाडौं । पश्चिमी अफगानिस्तानको काबुलस्थित एउटा मस्जिदमा विस्फोट हुँदा कम्तिमा १० जनाको मृत्यु भएको छ ।
मस्जिदमा प्रार्थनाको क्रममा भएको विस्फोटमा परेर २० जना घाइते भएका छन् । अफगानिस्तानको धार्मिक स्थल र रमजानको महिनामा नागरिकहरुमाथि लक्षित गरी श्रृंखलावद्ध आक्रमण भइरहेका छन् । अफगान गृह मन्त्रालयका उपप्रवक्ता बसमुल्लाह बबिबलेले पश्चिमी काबुलको खलिपा आगा–गुल–जान मस्जिदमा नमाज पढ्न भेला भएका सर्वसाधारणलाई लक्षित गरी विस्फोट गराइएको बताएका छन् ।
मस्जिदका प्रमुख सैयद फाजिल आगाले मस्जिदमा आत्मघाती हमला भएको दावी गरेका छन् । यता तालिवानका प्रवक्ता जबिहुल्लाह मजाहिदले विज्ञप्ति जारी गरेर विस्फोटको निन्दा गरेका छन् । उनले दोषीमाथि कडा कारबाही गर्ने चेतावनीसमेत दिएका छन । गत अगस्टमा सत्ता हातमा लिएसँगै तालिवानीले आम नागरिकको सुरक्षा गर्न नसकेको भन्दै सर्वत्र आलोचना हुन थालेको छ ।
पछिल्ला केही दिनयता श्रृंखलावद्ध विस्फोटका घटना बढेको भन्दै सर्वसाधारणले तालिवानी सरकारले आफूहरुको सुरक्षा दिन नसकेको बताएका छन । गत बिहिबार मात्र उत्तरी सहर मजार–इ–शरीफमा शिया मुस्लिम सवार दुई वटा गाडीलाई लक्षि गरी भएको विस्फोटमा ९ जनाको मृत्यु भएको थियो ।
त्यसअघिको शुक्रबार पनि विस्फोट हुँदा कुन्दुज सहरको एक मस्जिदमा प्रार्थना गरिरहेका ३३ जनाको मृत्यु भएको थियो।सुन्नी बहुल अफगगानिस्तानमा आईएसआईएलको क्षेत्रीय शाखाले बारम्बार शिया र सुफीलगायतक अल्पसंख्यक समुदायलाई निशाना बनाउँदै आएको छ ।
अफगानिस्तानको जनसंख्यामध्ये करिब २० प्रतिशत अल्पसंख्यक समुदाय रहेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्