
काठमाडौं । नवनियुक्त सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्यालले निर्वाचनलाई सफल ढङ्गले सम्पन्न गर्ने बताउनुभएकाे छ ।
गृहमन्त्रालयमा साेमबार दर्ज्यानी चिन्ह ग्रहण गर्दै सशस्त्र प्रहरी बल नेपालले सम्बन्ध सबै पक्षहरूसँग समन्वय गर्दै त्रुटीहित तवरले कार्यसम्पादन गर्ने प्रतिवद्धता जनाउनुभएकाे हाे ।
दर्ज्यानी चिन्ह लगाएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले आसन्न स्थानीय तहको निर्वाचनलाई स्वच्छ, शान्तिपूर्ण, मर्यादित तथा विश्वसनीय ढङ्गले सम्पन्न गर्न सशस्त्र प्रहरी बलले काम सुरु गरिसकेको बताउनुभयो ।
अर्यालले अहिलेको प्राथमिकता भनेकै स्थानीय तहको निर्वाचन भएकोले निर्वाचनको सुरक्षा र निष्पक्षताका लागि सशस्त्र प्रहरी बल तयार रहेको बताउनुभयाे ।
नवनियुक्त सशष्त्र प्रहरी महानिरीक्षक अर्यालले निकट भविष्यमा हुने प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनका लागि समेत आवश्यक तयारीहरू गर्दै निर्वाचनको सुरक्षा जिम्मेवारी पूरा गर्न सशस्त्र प्रहरी बल नेपाल तयार रहेको बताउनुभयो ।
अर्यालले आफ्नो कमाण्डमा नीतिगत सुधार अन्तर्गत सशस्त्र प्रहरी कर्मचारीको सरुवा बढुवालाई न्यायोचित एवम् पूर्वानुमान योग्य बनाउन र पदपूर्तिलाई व्यवस्थित गर्न आवश्यक मापदण्ड निर्माण गरी लागू गरिने बताउनुभयो । उहाँले हाल भएका कार्यविधिहरू र विभिन्न नयाँ कार्यविधिहरू निर्माण गरी व्यक्तिले नभई नीतिले संगठन चलाउने पद्धतिको शुरुवात गरिने प्रतिवद्धतासमेत गर्नुभएकाे छ ।
नवनियुक्त सशष्त्र प्रहरी महानिरीक्षक अर्यालले संस्थागत सुधार अन्तर्गत सशस्त्र प्रहरी बल नेपालको कमाण्ड, आचरण पालना, अनुगमन मूल्याङ्कन, पुरस्कार तथा दण्ड, भ्रष्टाचार एवं लैङ्गिक हिंसा लगायतका विषयहरूलाई नीति, नियम र कार्यविधिद्वारा नियमन गर्ने बताउनुभयो ।
आर्थिक पारदर्शीतालाई आफ्नो पहिलो प्राथमिकता बनाएर राजश्व संकलनमा अभिवृद्धि र चोरी, तस्करी नियन्त्रणको कामलाई प्रभावकारी बनाउने बताउनुभयो ।
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले सीमा सुरक्षा सम्बन्धी घटना तथा जानकारी समयमै प्रतिवेदन गर्न र कार्यान्वयनमा लैजान सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा २४ सै घण्टा रहनेगरि सीमा सुरक्षा डेस्क छुट्टै स्थापना गरिने समेत बताउनुभयाे ।
प्रतिक्रिया दिनुहोस्