
काठमाडौं । नेकपा (एमाले) को तर्फबाट काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार केशव स्थापितलाई ‘महिलाप्रति अभद्र व्यवहार’ गरेको आरोप लगाएकी रश्मिला प्रजापतिलाई आर्थिक अनियमितता आरोप लगाइएको लिखत सार्वजनिक भएको छ । स्थापित पक्षधरहरूले सोमबार सामाजिक सञ्जालहरूमा २०६० श्रावण ३ गतेका बैठकको निर्णयको लिखत सार्वजनिक गरेका हुन्, जसमा कामपाका पूर्व कर्मचारी प्रजापतिमाथि आर्थिक अनियमितता आरोप लगाइएको छ ।
महानगरपालिकाका पूर्व मेयर स्थापितमाथि यौन हिंसाको आरोप लगाउँदै आएका प्रजापतिले आफूलाई जागिरबाट हटाइएको वास्तविक कारण ढाकछोप गरेको दाबी गर्दै आउनुभएको छ । तत्कालीन मेयर स्थापितले आफूलाई यौन प्रस्ताव राखेको र सो प्रस्ताव नमानेका कारण जागिरबाट हटाइएको उहाँको दाबी छ । तर, त्यतिबेला प्रजापतिले आफ्ना गाडी चालक र अन्य एक कर्मचारीलाई अपशब्द प्रयोग गरी गालीगलौज गर्नुका साथै अनियमित कार्यहरू गरेको भन्दै कर्मचारी युनियनले आन्दोलन गरेका थिए । त्यसै क्रममा उहाँलाई कारबाही गर्नुपर्ने माग राखी कर्मचारीहरूले चार दिनसम्म शहरको फोहोर उठाउन बन्द पनि गरेका थिए । यसै क्रममा आन्दोलनलाई साम्य पार्न आन्दोलनरत कर्मचारी र कामपा प्रशासनबीच २०६० श्रावण ३ गते बैठक बसेको थियो । सो बैठकको पहिलो निर्णय नै प्रजापतिलाई जिम्मेवारीबाट हटाउने भन्ने थियो ।
बैठकले प्रजापतिलाई तत्कालै हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रमबाट हटाएर कामपाको अतिरिक्त समूहमा सरुवा गर्ने, निजबाट भए गरेका अनियमितताको छानबिन गर्ने र त्यसका लागि चार कर्मचारी संगठनका प्रतिनिधि २(२ जना र कार्यकारी अधिकृतले खटाएको २ जनासमेतको टोली गठन गरी छानबिन गर्ने र उक्त टोलीले १ हप्ताभित्र प्रतिवेदन बुझाउनुपर्ने निर्णय गरेको थियो । साथै छानबिनबाट देखिएको कसुरको मात्राअनुसार निजलाई कारबाही गर्ने निर्णय पनि बैठकले गरेको थियो । छानबिन समितिले दिएको प्रतिवेदनकै आधारमा प्रजापतिलाई २०६० कार्तिक ३ गते अवकाश दिइएको थियो । उहाँलाई दिइएको अवकाश पत्रमा तत्कालीन निमित्त कार्यकारी अधिकृत गोपालप्रसाद पराजुलीको हस्ताक्षर रहेको छ ।
यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस्