१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


मतदाता रिझाउदै उम्मेदवार (फोटो फिचर सहित )


455
Shares

काठमाडौं । स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा उम्मेदवारहरु मत माग्न घरदैलो कार्यक्रममा ब्यस्त छन् ।

ग्रामिण भेगमा आफ्ना मतदाता रिझाउन उम्मेदवारहरु खेतबारीमा समेत पुग्ने गरेका छन् । ग्रामिण क्षेत्रका बासिन्दालाई भोट हाल्ने दिन बाहेक अरु दिन निर्वाचन भन्दा खेतीपातीकै चटारो छ । त्यसकारण पनि उम्मेदवार भने भोटमाग्न खेतबारीमा पुग्ने गरेका छन् ।

शहरी क्षेत्रमा भने उम्मेदवार बिहान बेलुकाको समय पारेर घर घरमा मतदातालाई भेट्न पुग्ने गरेका छन् ।

धेरैजसो शहरी क्षेत्रका बासिन्दा नोकरीका कारण दिउँसो घरमा नभेटिने हुँदा उम्मेदवार बिहान बेलुका मतदाता घरमा भएको मौका छोपेर घरदैलो कार्यक्रममा सक्रिय हुने गरेका छन् ।

रैथाने निर्वाचन भएकाले मतदाता पार्टी भन्दा पनि कसले निर्वाचन जित्दा काम गर्न सक्छ? कसको केन्द्रीय राजनीतिमा पकड छ र कसले विकासका योजना ल्याउन सक्छ,कसले स्थानीय समस्यालाई बुझेर काम गर्न सक्छ भन्ने उम्मेदवारले जित्नुपर्छ भन्ने धारणा राख्छन् ।

उम्मेदवारहरु घर दैलोमा पुगेर अहिले मतदाताको मन तान्न लागिपरेका छन् । कतिपय उम्मेदवाहरु आफ्नो घोषणापत्र सहित घरदैलोमा पुगेका छन् भने कतिपय उम्मेदवार घोषणापत्र बिनै मतदाता रिझाउन व्यस्त छन् ।

उम्मेदवारहरुले मतदाताको मन जित्न बिभिन्न किसिमका प्रतिवद्धताहरु बाँडिरहेका छन् ।

यहि बैशाख ३० गते एकैदिन देशभर स्थानीय तहको निर्वाचन हुँदैछ । नेपालमा गणतन्त्र स्थापना पछिको यो दोस्रो स्थानीय तहको निर्वाचन हो । गणतन्त्र आएपछि पहिलो पटका स्थानीय तहको निर्वाचन २०७४ सालमा भएको थियो ।

अहिलेको निर्वाचनमा कतिपय स्थानीय तहमा पुरानै उम्मेदवार दोहोरिएका छन भने कतिपय स्थानीय तहमा नयाँ उम्मेदवारले मौका पाएका छन् ।


निर्वाचनमा मुख्य प्रतिस्पर्धा सत्ता गठबन्धन र एमाले गठबन्धनबीच हुनेछ ।

सत्ता गठबन्धनमा कांग्रेस,नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी,जनता समाजवादी पार्टी र जनमोर्चाको तालमेल छ भने एमाले गठबन्धनमा कमल थापा नेतृत्वको राप्रपा,एकनाथ ढकाल नेतृत्वको परिवारदल रहेका छन् ।

तर केन्द्रमा यसरी तालमेल भएपनि कतिपय स्थानीय तहमा भने सबै दलले आफू अनुकुल गठबन्धन गरेका छन् ।