२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


‘निर्वाचन आयोगको आचारसंहिता पत्रकारले मान्न जरुरी छैन’


286
Shares

काठमाडौं । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले निर्वाचन आयोगले जारी गरेको आचारसंहितालाई पत्रकारहरूले मान्न जरुरी नरहेको बताउनुभएको छ ।

विश्व प्रेस स्वतन्त्रता दिवस २०२२ को अवसरमा नेपाल पत्रकार महासंघले आयोजना गरेको प्रेस स्वतन्त्रता तथा पत्रकार सुरक्षा वार्षिक प्रतिवेदन सार्वजनिकिकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष पोखरेलले निर्वाचन आयोगले बनाएको आचारसंहितामा अभिव्यक्ति स्वतन्त्रतालाई संकुचित बनाइएको आरोप लगाउनुभयो ।

राज्यले प्रविधिलाई मात्रै हेरेर कानूनहरू बनाउँदा पत्रकारिता र अभिव्यक्ति स्वतन्त्रतालाई वञ्चित गरेको उल्लेख गर्दै उहाँले आयोगको आचारसंहिता पत्रकारहरूले मान्न जरुरी नरहेको बताउनुभयो । उहाँले पत्रकारहरूको आफ्नै आचारसंहिता रहेको पनि स्पष्ट पार्नुभयो ।

अध्यक्ष पोखरेललले राज्यले सधैँभरी प्रेसलाई नियन्त्रण गर्ने मनशाय राखेको आरोप लगाउनुभयो । उहाँले पत्रकारितालाई श्रमको दृष्टिले पनि सबल र समुन्नत बनाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा बोल्दै राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले पत्रकारिता स्वतन्त्र हुनुपर्ने बताउनुभयो । पत्रकारिता स्वतन्त्र भएमा मात्र प्रजातन्त्र दीगो हुने उहाँको तर्क थियो । जनताले वास्तविक कुरा थाहा पाउनेहरू समाचार बनाउन उहाँले आग्रह गर्नुभयो ।

सूचना तथा प्रशारण विभागका महानिर्देशक गोगनबहादुर हमालले पत्रकारिता क्षेत्रमा गैरपत्रकारहरूको बाहुल्यता बढ्दै गएको विषयमा सोच्नुपर्ने बेला आएको बताउनुभयो । राज्यले पत्रकारिताको खोल ओढेर गैरकानूनी काम गरिरहेकाहरूलाई नियन्त्रण गर्ने उहाँको भनाइ छ ।

नेपाल पत्रकार महासंघकी सल्लाहकार निर्मला शर्माले पत्रकारहरू आफ्नो अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको विषयमा सचेत हुन जरुरी रहेको बताउनुभयो ।

नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष महेन्द्र विष्टले तीनै तहको सरकारले बनाउने कानूनहरूमा प्रेस स्वतन्त्रता संकुचन गर्ने विषय प्राथमिकतामा परिरहेको तर्फ ध्यानाकर्षण गराउनभयो । यस विषयमा सबै पक्ष सचेत हुनुपर्नेमा उहाँको जोड छ ।

नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष धर्मेन्द्र झाले प्रेस स्वतन्त्रता केवल पत्रकारको विषय मात्रै नभई आम जनताको विषय भएको बताउनुभयो । प्रेस स्वतन्त्रता नहुँदा जनता सुसुचित हुन नपाउने उहाँको भनाइ छ ।

नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष तारानाथ दाहालले सरकारले पत्रकारलाई सुरक्षित वातावरणमा काम गर्ने वातावरण बनाइदिनुपर्ने बताउनुभयो । स्वतन्त्र पत्रकारिताका लागि कानूनी, आर्थिक, सुरक्षाको वातावरण अनुकुल बनाउने दायित्वबाट राज्य पन्छिन नमिल्ने उहाँले बताउनुभयो ।

उहाँले पत्रकारहरू अझैपनि विभिन्न धाकधम्की र आक्रमणको शिकार हुनुपरेको भन्दै त्यस्तो गतिविधि तुरुन्त रोकिनुपर्नेमा जोड दिनुभयो ।