१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


राहुल गान्धी नेपाल आउँदा भारतमा हंगामा, क्लबको भिडियो भाइरल


6.604k
Shares

काठमाडौं । आफ्नो साथीको विवाहमा सरिक हुन नेपाल आएका भारतीय कंग्रेसका नेता राहुल गान्धी नेपाल आउँदा भारतमा भने हंगामा मच्चिएको छ ।

सोमबार अपरान्ह नेपाल आएका गान्धी राति ठमेलस्थित एक क्लबमा गएका थिए । उनी क्लबम एक महिलासँग कुरा गरिरहेको भिडिया सार्वजनिक भएपछि भारतमा हंगामा मच्चिएको हो ।

क्लबमा महिलासँग गफ गर्दै गरेको भिडियो सेयर गर्दै भारतको सत्तारुढ पार्टी भारतीय जनता पार्टी (भाजपा)का नेता कपिल मिश्रले उनको आलोचना गरेका छन् ।

भारतका कानूनमन्त्री किरण रिजिजूले समेट राहुलको उक्त भिडियोमाथि ट्वीट गर्दै लेखेका छन्, ‘पार्टीहरू, छुटटीहरू, प्लेजर ट्रिप, निजी विदेश यात्रा अब यो देशको लागि नयाँ रहेन, कोही नागरिक यस्तो गरे कुनै समस्या छैन, तर जब एक सांसद र राजनीतिक पार्टीका नेता यस्तो गर्छभन् भने….’

भाजपाका प्रवक्ता शहजाद जयहिन्दले पनि ट्वीट गर्दै राजस्थान जलिरहेको अवस्थामा राहुल गान्धी पार्टीमा व्यस्त भएको टिप्पणी गरेका छन् । उनले लेखेका छन्, ‘राजस्थान जलिरहेको छ तर बाबा पार्टी गरिरहेका छन्, पार्टी (कांग्रेस) सकिए पनि पार्टी त यसरी नै चलिरहन्छ, पार्टी टाइम नेता ।’

भारतीय कंग्रेसका नेता रणदीप सूरेजवालाले यसमा प्रतिक्रिया दिँदै लेखेका छन्, ‘राहुल गान्धी आफ्नो साथीको वैवाहिक कार्यक्रममा सहभागी हुन मित्रदेश नेपाल गएका छन् । राहुल गान्धी मोदीले झैँ नबोलाएको पाहुनाजसरी पाकिस्तानका प्रधानमन्त्रीकहाँ केक काट्न गएका हैनन् ।’

राहुल गान्धीको भिडियोमा भाजपा आईटीसेलका प्रमुख अमित मालवीयसमेत अन्य कयौं नेताले प्रतिक्रिया दिएका छन् । केहीले भने राहुल गान्धीलाई पार्टीमा देखेको भिडियोमा भइरहेको हंगामालाई फजुल विषय भनेका छन् । उनीहरूले यस विषयमा चर्चाको आवश्यकता नरहेको बताएका छन् ।

सोमबार अपरान्ह ४ बजे काठमाडौं उत्रिएका गान्धी नक्सालको होटल मेरियटमा बसेका छन् । उनी तीन जनाको साथमा नेपाल आएका हुन् । गान्धी आफ्नो साथी सुम्निमा उदासको विवाहमा सरिक हुन नेपाल आएका हुन् ।सीएनएनकी पूर्व संवाददाता उदासको नीमा मार्टिन शेर्पासँग मंगलबार विवाह हुँदैछ ।

नेपालको परराष्ट्र मन्त्रालयले राहुल गान्धी नेपाल आएकोबारे आफूलाई जानकारी नभएको जनाएको छ । मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले राहुल गान्धी सरकारमा नभएकाले नेपाल आउनुअघि जानकारी दिन जरुरी नभएको बताइन् ।

प्रहरीले पनि गान्धी निजी यात्रामा रहेको बताएको छ । उनने नेपालमा राजनीतिक तथा सरकारी अधिकारीसँग भेट्ने कार्यक्रम अहिलेसम्म तय भएको छैन । राहुल गान्धीको नेपाल यात्राबारे भाजपाले यसअघि पनि आपत्ति जनाउँदै आएको थियो ।

२०१८ मा तिब्बतको मानसरोवर जान नेपालको बाटो आएका गान्धीलाई उक्त समयमा पनि भाजपा नेता तथा कार्यकर्ताले निशाना बनाएका थिए । कांग्रेसले त्यतिबेला उनको तस्वीर सार्वजनिक गरे पनि भाजपा कार्यकर्ताले नक्कली तस्वीर भन्दै आलोचना गरेका थिए । तर, पछि फ्याक्ट चेक गर्दा तस्वीर सही भएको पुष्टि भएको थियो ।