१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मतदानका लागि दलका समर्थक स्पष्ट, झण्डाभन्दा एजेण्डा केलाउँदै नागरिक


130
Shares

कोमल शेरचन/गृष्मा राजभण्डारी
काठमाडाैं । व्यक्तिगत र पार्टीगत आश्वासन बोकेर यतिबेला उम्मेदवार मतदाताको घरदैलोमा छन् ।

चुनाव जित्न उनीहरू साम, दाम, दण्ड, भेद सबै प्रकारका अस्त्र प्रयोग गर्दै मीठा सपना बाँडिरहेका छन् । कसैलाई विरासत जोगाउने चुनौती छ भने कोही गठबन्धनको बलमा स्थापित हुने दाउमा छन् ।

यसअघि चुनाव जितेका दल तथा उम्मेदवारहरू दोहो¥याउन र नजितेकाहरू जसरी पनि जित्ने दाउपेचमा छन् । यस अवस्थामा स्वयं मतदाताहरू विभाजित देखिन्छन् । कोही चुनावी अभियानबारे नै बेखबर रहेको बताउँछन् ।

स्थानीय निकायमा जनप्रतिनिधिको उपस्थितिले विकासमा फड्को मारेको अनुभव गर्नेहरू नभएका होइनन् । तीन तहको सरकारमा हाम्रो अभ्यास पहिलो र नयाँ भएकाले हतोत्साही हुनुपर्ने अवस्था नरहेको उनीहरू बताउँछन् ।

मत हाल्ने अधिकारबाट वञ्चित हुन नहुने मान्यता राख्ने उनीहरू राजनीतिक अस्थिरताका नाममा मुलुकको वातावरण अशान्त हुन नहुने विचार राख्छन् । व्यवस्था भन्दा पनि अवस्था परिवर्तनको बेला भएको उनीहरूको मत छ ।

आफूभित्र मताधिकारबारे प्रचुर ज्ञान रहेको दाबी गर्ने ९२ र ८१ वर्षका यी ज्येष्ठ नागरिकहरू मतदानस्थलको भद्रगोलले दिक्क पार्ने गरेको दुःखेसो पोख्छन् ।

उमेरले अरुको भर पर्नुपर्ने अवस्था सम्झेर उनीहरूको मन पोल्छ । यद्यपि पटक–पटक मत हाल्नुलाई उनीहरूले नागरिक कर्तव्यका रूपमा बुझेका छन् ।

उम्मेदवारको घरदैलो कार्यक्रम रुचिपूर्वक हेरिरहेका मतदाता सबैको एजेण्डा र अनुरोध संयमपूर्वक हेर्ने, सुन्ने गरिरहेका छन् ।

दल समर्थक मतदाता स्पष्ट छन् भने युवापंक्ति उम्मेदवारको व्यक्तित्व परख गरिरहेका छन् । उनीहरूको प्राथमिकता झण्डाभन्दा पनि एजेण्डामा टिकेको छ ।

जे होस् अधिकांश मतदातामा चुनावप्रति देखिएको सकारात्मक धारणा आफैंमा लोकतन्त्रको उपलब्धि मान्न सकिन्छ ।