
इलाम । जिल्लामा दुई जनाको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
इलाम नगरपालिका–८ सिङफिरिङकी ३१ वर्षीया बिनिता काफ्ले र देउमाई नगरपालिका–७ का सन्तोषवाला राईका हत्यामा संलग्न भएको आरोपमा तीन जनालाई पक्राउ गरेको हो ।
बिनिताको हत्यामा संलग्न भएको आरोपमा सोही ठाउँका देवेन्द्र रिमाल पक्राउ परेका हुन् ।
मृतक बिनिता र आरोपी देवेन्द्रबीच विगत १० वर्षदेखि चिनजान तथा तीन वर्षयता घनिष्ट सम्बन्ध रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गंगाबहादुर थापाले जानकारी दिनुभयो ।
बिनिताको श्रीमान्को दुई वर्षअघि विदेशमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यस्तै, सन्तोषवालाको हत्या आरोपमा सोही ठाउँका भुपेन राई र चन्द्र राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ । भुपेन र चन्द्र दाजुभाइ हुन् । घटनाको कारणबारे भने प्रहरीले खुलाएको छैन ।
बैशाख १६ गते शुक्रबार देउमाई–७ चुलीगाउँस्थित पूर्णबहादुर दहालको भिरालो जमिनमा सन्तोषवाला राईको शव भेटिएको थियो ।
दुवै घटनामा संलग्न भएको आरोपितहरूलाई म्याद थप गरी थप अनुसन्धान सुरु गरिएको इलामका प्रहरी प्रमुख महेन्द्र कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्