१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


ढोरपाटनमा गठबन्धन उम्मेदवारको प्रतिवद्धता– दूधमा २० र मासुमा १० रुपैयाँ अनुदान

'दुई हजार जनालाई रोजगारी, अन्त रिफर गर्नै नपर्ने गरी नगरमै सुविधासम्पन्न अस्पताल निर्माण'

312
Shares

बागलुङ । ढोरपाटन नगरपालिकामा गठबन्धनका तर्फबाट मेयरका उम्मेदवारले किसानलाई दूधमा प्रतिलिटर २० रुपैयाँ अनुदान दिने प्रतिवद्धता जनाउनुभएकाे छ ।

गठबन्धनको तर्फबाट मेयरका उम्मेदवार नेकपा (माओवादी केन्द्र)का प्रदेश सदस्य चन्द्र अर्यालले आफू मेयर भएमा कृषिमा स्थानीयलाई आकर्षित गर्न स्थानीय उत्पादनमा अनुदान दिने घोषणा गर्नुभएको हो ।

‘पवृत्ति र पात्र फेर्ने सुनौलो अवसर, सक्षम पारदर्शी र भ्रष्टाचारमुक्त नगर सरकार’ भन्ने मूल नारा लिएर चुनावी प्रचारमा होमिनुभएका उहाँले आफूसँग स्पष्ट भिजन भएको दाबी गर्दै ढोरपाटनवासीले आफूलाई नै विजयी गराउने विश्वास व्यक्त गर्नुभयो ।

‘दुई दशकदेखि पार्टीको मूल प्रवाहमा’
ढोरपाटन नगरपालिका–२ मा २०३० मा जन्मनुभएका अर्यालले व्यवस्थापनमा स्नानकसम्मकाे अध्ययन पूरा गर्नुभएको छ । वि.सं.२०५६ सम्म माध्यमिक तहकाे विद्यालयमा अध्यापन गराउनुहुन्थ्यो ।

५६ सालदेखि व्यवसाय र पेशा छोडेर अर्याल नेकपा (माओवादी केन्द्र)मा प्रवेश गर्नुभएका उहाँ सशस्त्र जनयुद्धमा होमिने क्रममा बुटवल विस्थापित हुनुभयो । यद्यपि पार्टीको सम्पर्कमै रहेर बुटवललाई कार्यक्षेत्र बनाउनुभएका उहाँ शान्ति सम्झौतापछि ढोरपाटन फर्कनुभयो ।

लामो समयदेखि पार्टीको मूल प्रवाहमा रहेकाले पार्टीले आफूलाई छानेको उम्मेदवार अर्यालको दाबी छ । पार्टीको विश्वासलाई आफूले सही सावित गर्दै नगरवासीको जीवनस्तर उकास्न काम गर्ने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो ।

‘२०५७ देखि म पार्टीको मूल प्रवाहमा रहेर काम गरिरहेको थिएँ,’ उहाँले भन्नुभयो, ‘दुई दशकभन्दा लामो समयको ध्यान र एकाग्रताले पनि पार्टीले विश्वास गरेको हुनसक्छ, पार्टीले गरेको विश्वासलाई यथार्थमा बदल्नका लागि विशेष योजनाको साथ आएको छु ।’

माओवादी केन्द्र ढोरपाटन नगरकमिटीले अर्यालको नाम प्रदेश कमिटीमा सिफारिस गरेको थियो । नगरमा सर्वसम्मति भएपछि प्रदेश कमिटीसदस्य समेत रहनुभएका उहाँको नाम उम्मेदवारकाे लागि सिफारिस भएकाे हाे ।

‘अरुभन्दा शैक्षिक, सामाजिक, बौद्धिक र राजनीतिक रूपले अब्बल’
दुई दर्जनभन्दा बढी सामाजिक संस्थामा सक्रिय रहेर विगत १५ वर्षदेखि काम गर्दै आइरहेका अर्यालले आफूलाई ढोरपाटनवासीले चयन गर्नेमा विश्वस्त हुनुहुन्छ । साथै उहाँ आफूलाई निष्कलंकित सामाजिक र राजनीतिक व्यक्ति भएको स्वघोषणा गर्नुहुन्छ ।

नगरको उम्मेदवारमा उठेकाभन्दा आफू शैक्षिक, सामाजिक, बौद्धिक र राजनीतिक रूपले पनि अब्बल भएको उहाँको दाबी छ । विभिन्न सामाजिक संस्थामा रहेर काम गरेको अनुभवले विकास निर्माणका विषयवस्तुको ज्ञान भएको उहाँले बताउनुभयो ।

उम्मेदवार अर्यालले अन्य प्रतिस्पर्धीको तुलनामा आफ्नो भिजन उत्कृष्ट भएको बताउँदै भावी योजना र खाकाले ढोरपाटन नगरको मुहार फेरिने दाबी गर्नुभयो । उहाँले यसअघिका नगरप्रमुखले गरेका गलत कामबाट मुक्ति पाउनका लागि भए पनि नगरवासीलाई आफूलाई मतदान गर्ने जिकिर गर्नुभयाे ।

प्रतिवद्धता
प्राकृतिक सुन्दरताले भरिपूर्ण ढोरपाटन नगरपालिकामा पर्यटनको प्रचुर सम्भावना छ । देशकै एकमात्र सिकार आरक्ष भएकाले पनि यहाँ स्थानीय र बाह्य पर्यटकहरूकाे आकर्षणकाे केन्द्रमा छ ।

पर्यटनबाट नगरले ठूलो प्रगति गर्न सक्ने सम्भावना भएकाले देशकै उत्कृष्ट बनाउन आफूले उम्मेदवारी दिएको अर्याल बताउनुहुन्छ । नगरभित्र रहेका उच्च पहाडी र हिमाली क्षेत्रका स्थानीयका लागि दातृ निकायसँगको समन्वयमा सोलार हिटर प्लान्ट स्थापना गर्ने उहाँको योजना छ ।

धार्मिक पर्यटन, सिकार आरक्ष र ढोरपाटन उपत्यकाको विकास लागि आफू गुरुयोजनाको साथ आएको उहाँ बताउनुहुन्छ । उक्त गुरुयोजनामा नगरभित्र जडिबुटी, आलु र दुग्ध प्रशोधन उद्योग सञ्चालन गरिने उहाँको प्रतिवद्धता छ ।

यस्तै ढोरपाटनको वनमा कुहिएर गएका काठ व्यवस्थापनका लागि मात्र चारवटा काठ उद्योग स्थापना गर्न सकिने उहाँको योजना छ । त्यसमार्फत प्रत्यक्ष र अप्रत्यक्ष रुपमा दुई हजार जनालाई रोजगारी दिन सकिने अर्यालले बताउनुभयो ।

आफू निर्वाचित भएका नगरमा रहेका ९ वडाका हरेकमा १० देखि १२ जना गरी १ सय जनालाई रोजगारी उपलब्ध गराउने उहाँको योजना छ । अघिल्लो सरकारले गर्न नसकेको नगरपालिकाको प्रशासकीय भवन पनि आफूले निर्माण गर्ने उहाँले बताउनुभयो ।

‘१० जनालाई इन्जिनियरिङ्ग र ५ जनालाई एमीबीबीएस अध्यापन’
उम्मेदवार चन्द्र अर्यालले आफ्नो घोषणापत्रमा स्नातक तहसम्मको अध्ययन निःशुल्क गर्ने प्रतिवद्धता जनाउनुभएकाे छ । नगरभित्रै रहेको निसीभुजी बहुमुखी क्याम्पसमा स्नातक अध्ययन गर्नेलाई निःशुल्क पठनपाठन गराउने योजना आफूले बनाएको उहाँले बताउनुभयो ।

अहिले विद्यालय तहमा निःशुल्क अध्ययन भनिए पनि त्यो पूर्णरूपमा पालना नभएको भन्दै उहाँले आफूले त्यसलाई पूर्ण कार्यान्वयन गराउने बताउनुभयाे । परीक्षा शुल्क, अतिरिक्त शुल्कको नाममा लिइने शुल्कलाई पूर्णतः हटाउने उहाँकाे बाचा छ ।

यस्तै, अर्यालले प्राविधिक शिक्षालाई जोड दिने, विद्यालयमा आवश्यक दरबन्दी थप गर्नुका साथै सामुदायिक विद्यालयको भौतिक र शैक्षिक सुधारलाई प्राथमिकता दिने प्रतिवद्धता व्यक्त गर्नुभयो । अर्को महत्त्वपूर्ण घोषणा भनेको हरेक वर्ष गरिब, विपन्न, जेहेन्दार, दलित र असहाय १० विद्यार्थीलाई इन्जिनियर र ५ विद्यार्थीलाई एमबीबीएस पढाइने हाे ।

‘अन्य ठाउँमा रिफर गर्नुनपर्ने गरी नगरमै सुविधासम्पन्न अस्पताल’
अर्यालको प्रतिवद्धताको पोको खोल्दा हरेक वडामा एमबीबीएस डाक्टरसहितको स्वास्थ्य इकाई स्थापना गर्ने महत्त्वकांक्षी योजना भेटियो । आफूले ठूलो लक्ष्य लिएको र त्यसलाई पूरा गर्न प्रतिवद्ध रहेको उहाँको भनाइ छ ।

भएका स्वास्थ्य संस्थालाई स्तरोन्नति गर्ने, नगरपालिकाका स्थानीयलाई थप उपचारका लागि बाहिर पाल्पा, पोखरा, बुटवल र काठमाडौं जानुपर्ने बाध्यताको अन्य गर्नका लागि नगरमा उच्च स्तरको अस्पताल स्थापना गर्ने उहाँको योजना छ ।

‘किसानलाई प्रतिलिटर दूधमा २० रुपैयाँ अनुदान, प्रतिकेजी मासुमा १० रुपैयाँ’
नगरप्रमुखको उम्मेदवार अर्यालले कृषि क्षेत्रमा आफूले नयाँ क्रान्ति गर्ने गरी योजना बनाएको बताउनुभयाे । किसानलाई यान्त्रिकरण गर्दै व्यावसायिक कृषिका लागि आधुनिक र उच्चस्तरको प्रविधि भित्र्याएर उत्पादन र लागत बढाउने उहाँको प्रतिवद्धता छ ।

यस्तै, नगरभित्र कुनै किसानले दूध उत्पादन गरेर बेचेमा उसलाई प्रतिलिटर २० रुपैयाँ अनुदान दिने अर्यालको आश्वासन छ । यतिमात्र नभई नगरभित्रै उत्पादन गरे मासु बेच्नेलाई प्रतिकेजी १० रुपैयाँ अनुदान नगरपालिकाले दिने उहाँको तयारी छ ।

कृषिलाई जीविकोपार्जनबाट व्यावसायिकतर्फ रुपान्तरण गर्न नसकेसम्म नगरवासीको जीवनस्तर माथि उठ्न नसक्ने उहाँको बुझाइ छ ।

पूर्व प्रमुखको पाँच वर्षीय कार्यकालको समीक्षा
अर्यालले गएको पाँच वर्षमा स्थानीय सरकारले एउटा पनि राम्रो काम नगरेको आरोप लगाउनुभयाे । नगर सरकारले पाँच वर्षीय कार्यकाल अपारदर्शी, त्रुटीपूर्ण र अव्यवहारिक भएको अर्यालेकाे आराेप छ ।

नगरप्रमुख उत्पादनमुखी भन्दा वितरणमुखी भएको, कार्यकर्ता पोसेको र नगरपरिषद् बैठकमा समन्वयन नगरी एकलौटी रूपमा कार्य सञ्चालन गरेको आक्षेप पनि अर्यालले लगाउनुभयो । गतवर्ष आएको बाढीका कारण ढोरपाटनका ४० भन्दा बढी नगरवासीको ज्यान गएको र उनीहरूलाई नगरपालिकाले अहिलेसम्म पुनर्स्थापन गर्न नसकेको उहाँको भनाइ छ ।

नेपालीको कार्यकालमा ढोरपाटन नगरपालिका देशकै सबैभन्दा बढी बेरुजु राख्ने नगर भएको अर्यालको दाबी छ । एक वर्षमा नगरपालिकाको बेरुजु ६ करोडभन्दा बढी रहेको उहाँको भनाइ छ । उहाले पाँच वर्षमा नगरपालिकाले १ किलोमिटर सडक पनि कालोपत्रे नगरेको र योजनावद्ध विकास नगरेको उहाँको आरोप छ ।

२०७४ को स्थानीय तह निर्वाचनबाट नेकपा (एमाले)का देवकुमार नेपाली नगरप्रमुख (मेयर)मा विजयी हुनुभएको थियो ।

२०७४ को निर्वाचन र वर्तमान अवस्था
स्थानीय तह निर्वाचन २०७४ लाई हेर्दा ढोरपाटन नगरपालिकाका निवर्तमान मेयर देवकुमार नेपालीले कुल मतदाताको २२.४५ प्रतिशत मत प्राप्त गर्नुभयो । सो समयमा नगरमा ११ हजार ९९० मतदाता रहेकोमा नेपालीले २ हजार ६९२ मत ल्याउनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका अर्जुन शेरचनले १ हजार ९४६ मत पाउनुभएको थियो ।

त्यसैगरी राष्ट्रिय जनमोर्चाले १ हजार ९ सय मत ल्याउँदा नेकपा (माओवादी केन्द्र)ले १ हजार ४ सय मत ल्याएको थियो । गत स्थानीय तह निर्वाचनको तुलनामा अहिलेको निर्वाचनमा ५ हजार ६४० नयाँ मतदाता थपिएका छन् । गएको निर्वाचनभन्दा राजनीतिक अवस्था फेरिएका कारण पनि उम्मेदवारहरू नयाँ मतदाताको मत तान्न लागि परेका छन् ।

नगरको प्रमुखमा अर्याल र नेकपा (एमाले)का तर्फबाट निवर्तमान मेयर नेपाली चुनावी मैदानमा छन् । सत्ता गठबन्धनले अर्यालको पक्षमा मत माग्दा एमाले आफ्नो विरासत छोड्न चाहँदैन । नेपालीलाई राष्ट्रिय जनमोर्चाको विद्रोही समूहको पनि समर्थन छ ।