१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


दलका घोषणापत्र कति पर्यटनमैत्री ?, कसको प्रतिवद्धता कस्ता ?


104
Shares

काठमाडौं । राजनीतिक दलहरूले स्थानीय तहको निर्वाचन लक्षित घोषणापत्रमा पर्यटन क्षेत्रलाई पनि प्राथमिकतामा राखेका छन् । कोरोनाले भर्खरै तंग्रिन लागेको पर्यटन क्षेत्रलाई सबल बनाउन उनीहरूले योजना अघि सारेका हुन् ।

नेपाललाई विशिष्ट पर्यटकीय गन्तव्यका रूपमा स्थापित गरी जनताको जीवनस्तर उकास्ने र राष्ट्रिय आयआर्जनको एक महत्वपूर्ण स्रोतका रूपमा पर्यटनलाई अघि बढाउन उच्च प्राथमिकता दिइने दलहरूको प्रतिबद्धता छ ।

नेपाली कांग्रेसले पर्यटनबाट समुन्नत राष्ट्र बनाउन प्रशस्त आधार भए पनि अपेक्षित लाभ लिन नसकिएको भन्दै एकीकृत र व्यवस्थित विकाससँगै आगामी दशकमा यस क्षेत्रबाटै देशको अर्थतन्त्रमा अगुवाइ गराउने लक्ष्य लिएको छ ।

नेपाललाई विशिष्ट पर्यटकीय गन्तव्यका रूपमा स्थापित गरी जनताको जीवनस्तर उकास्ने र राष्ट्रिय आयआर्जनको एक महत्वपूर्ण स्रोतका रूपमा अघि बढाउन उच्च प्राथमिकता दिइने कांग्रेसको घोषणापत्रमा उल्लेख छ ।

कांग्रेसले पर्यटकलाई बचाउन, फर्काउन र फैलाउनका लागि गन्तव्य प्रवर्द्धन, गुणस्तरीय पूर्वाधार विकास, विस्तार र स्तरोन्नति गर्ने, नयाँ पूर्वाधारको निर्माण गर्दा स्थानीय पहिचान झल्किने बनाउने लक्ष्य लिएको छ ।

मौलिक कला, संस्कृति र पर्यटनबाट समृद्धिको अवधारणा ल्याएको नेकपा (एमाले)ले तिनको जगेर्ना गर्दै स्थानीय पहिचानका क्षेत्रलाई अभिवृद्धि गर्ने र पर्यटनको विकासमार्फत रोजगारी र समृद्धि हासिल गर्ने लक्ष्य लिएको छ ।

प्रत्येक पालिकाको गौरवका प्राकृतिक र सांस्कृतिक विषय छनोट र विकास गर्ने भनेको उसले पर्यटकीय प्राकृतिक सम्पदा संरक्षण, ऐतिहासिक र सांस्कृतिक सम्पदाको प्रवर्द्धन, मानव निर्मित पर्यटकीय वस्तुको विकास, मूर्त र अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण गरिने जनाइएको छ ।

सम्बन्धित पालिकाका र मुलुककै सांस्कृतिक पहिचान र गौरवको रक्षा गर्ने, ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पुरातात्विक सम्पदा एवं स्थानीय मेला, पर्व एवं जात्राको संरक्षण र व्यवस्थापन गर्ने एमालेको घोषणापत्रमा लेखिएको छ ।

माओवादी केन्द्रले पनि आफ्नो घोषणापत्रमा पर्यटन प्रवर्द्धनको नीति अघि सारेको छ । पर्यटनको प्रतिफल गाउँ–गाउँमा पुर्‍याउन, नयाँ पर्यटकीय गन्तव्यको पहिचान गर्न र पर्यटकीय पदमार्गको विस्तार तथा पर्यापर्यटनको विकासमा जोड दिइने घोषणापत्रमा उल्लेख छ ।

घरबासलगायत पर्यटनमैत्री वस्तु उत्पादन गरी आयआर्जनमा टेवा पु¥याइने तथा पर्यटनबाट हुने आयको न्यूनतम ५० प्रतिशत सम्बन्धित स्थानीय तहमै खर्च गर्ने नीति माओवादी केन्द्रको छ ।

नेकपा (एकीकृत समाजवादी)को घोषणापत्रमा स्थानीय सरकारले आफ्नो भूगोलभित्रका पर्यटकीय स्थानको विकास र संरक्षण गर्नाका साथै पर्यटक आकर्षित गर्न सकिने नयाँ–नयाँ योजना अगाडि सार्ने उल्लेख छ ।

यसका लागि स्थानीय साधन तथा स्रोतलाई अधिकतम प्रयोग गरी पालिकास्तरमा आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गरेर आर्थिक गतिविधि बढाउने र रोजगारीका अवसर सिर्जना गरिने जनाइएको छ ।

जनता समाजवादी पार्टीले हरेक पालिकाले सम्भाव्यताका आधारमा प्राकृतिक–पर्यावरण तथा धार्मिक क्षेत्रको संरक्षण, ताल तथा नदीजन्य पदार्थको सही उपयोग, होमस्टे र पदयात्रा पर्यटनको विस्तार गर्दै पाँचवर्षे कार्ययोजनाका आधारमा निश्चित संख्याका स्वदेशी र विदेशी पर्यटक भित्र्याउने कार्यक्रम बनाउने नीति लिएको छ ।

पर्यटक आकर्षित गर्ने होटल तथा रिसोर्ट तथा अन्य सेवा प्रदान गर्ने उद्यमीलाई पहिलो पाँच वर्षसम्म आयकरमा ७५ प्रतिशत छुट दिइने जसपाको घोषणापत्रमा उल्लेख छ ।