
काठमाडौं । जिम्बोवे ‘ए’ विरुद्धको तीन खेलको एकदिवसीय सिरिजअन्तर्गत पहिलो खेलमा घरेलु टोली नेपाल ३ विकेटले पराजित भएको छ ।
कीर्तिपुर मैदानमा शुक्रबार भएको खेलमा नेपालले दिएको १३७ रनको लक्ष्य जिम्बावे ‘ए’ ले २६ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो ।
जिम्बावेका लागि ओपनर इन्नोसेन्ट काईयाले अविजित रहँदै सर्वाधिक ४८ रन बनाए । उनले चार चौका र एक छक्का प्रहार गरेका थिए ।
यस्तै अर्का ओपनर सेफास जुवायोले ३२ रन बनाए । राए काईयाले १४ रन जोड्दा ब्राड ईभान्सले अविजित १७ रन बनाए ।
बलिङमा नेपालका कप्तान सन्दीप लामिछाने र करण केसीले २–२ विकेट लिए भने सोमपाल कामी र सागर ढकालले १–१ विकेट लिए ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ३१ दशमलव ३ ओभरमा सबै विकेट गुमाएर १३६ रनको लक्ष्य दिएको थियो । नेपालका लागि सोमपाल कामीले सर्वाधिक ३० रन बनाएका थिए भने करण केसीले २५ रन बनाए ।
सोमपाल र करण केसीले आठौँ विकेटका लागि ३७ रनको साझेदारी गरेका थिए । ओपनर कुशल भुर्तेलले १९ रन र दीपेन्द्र सिंह ऐरीले १८ रन बनाए ।
आसिफ शेख र आरिफ शेख समान ५–५ रन बनाएर आउट भए भने रोहित पौडेलले ३ रन र आदिल आलमले २ रन मात्रै बनाए । कप्तान सन्दीप लामिछानेले ४ रन बनाए भने सुशन भारीले एक रन पनि जोड्न सकेनन् ।
सिरिज अन्तर्गतको दोस्रो खेल शनिबार हुनेछ । यसअघि नेपालले जिम्बावे ‘ए’विरुद्ध टी–ट्वान्टी खेलको सिरिज खेलेको थियो । तीन खेलको सिरिजमा १–१ को बराबरी भएको थियो । बाँकी एक खेल वर्षाका कारण स्थगित भएको थियो ।
प्रतिक्रिया दिनुहोस्