२८ चैत्र २०८१, बिहिबार | Fri Apr 11 2025


चितवनको एउटै फार्मका १ लाख १६ हजार कुखुरामा बर्डफ्लु


390
Shares

काठमाडौं । चितवनको खैरहनीस्थित एउटै फार्ममा रहेका एक लाख १६ हजार कुखुरामा बर्डफ्लु पुष्टि भएको छ ।

खैरहनी नगरपालिका–१ ज्यामिरेमा रहेको अन्नपूर्ण पोल्ट्री ब्रिडर्स फार्ममा एकैपटक यति धेरै कुखुरामा बर्डफ्लु पुष्टि भएको हो । ठूलो सङ्ख्यामा कुखुरा रहेको फार्ममा बर्डफ्लु देखिएको जिल्लाको यो पहिलो फार्म हो ।

फार्ममा केही दिनअघि गरिएको द्रुर्त परीक्षणमा सङ्क्रमण देखिएपछि थप परीक्षणका लागि नमूना काठमाडौँ पठाइएको थियो । परीक्षणमा बर्डफ्लु देखिएसँगै कुखुरा, अण्डा, दाना, क्रेट, कार्टुनलगायतका सामग्री नष्ट गर्न थालिएको छ ।

सबै नष्ट गर्न केही दिन लाग्ने बताइएको छ । फार्मका सञ्चालक सुमा अर्यालका अनुसार बर्डफ्लुका कारण प्रत्यक्ष, प्रत्यक्षरूपमा २५ करोड हाराहारी नोक्सान हुने देखिएको छ । जिल्लामा यसबाहेक ३१ वटा पोल्ट्री फार्ममा बर्डफ्लु देखापरेको छ ।

बर्डफ्लु देखिएका फार्ममा दुई लाख ३३ हजार ३१२ लेयर्स कुखुरा मारिएको भेटेरीनरी अस्पताल तथा पशु सेवा केन्द्र भरतपुरले जनाएको छ । माघ २८ गते पहिलोपटक पूर्वी चितवनको राप्ती नगरपालिकामा देखिएको बर्डफ्लु अहिले जिल्लाभरि फैलिएको छ ।