
काठमाडौं । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि कैलालीमा चार हजारभन्दा बढी कर्मचारी खटाउन लागिएको छ ।
आवश्यक निर्वाचन सामग्रीसहित जिल्लाका १३ पालिकाका २ सय ३६ मतदानस्थलका ६ सय १९ मतदान केन्द्रका लागि मतदान अधिकृत र त्यत्तिकै सङ्ख्यामा सहायक मतदान अधिकृत खटाउन लागिएको हो ।
पाँच सय मतदाता भएको केन्द्रमा एक सहायक कर्मचारी र पाँच सयभन्दा बढी मतदाता भएको मतदान केन्द्रमा दुुई सहायक कर्मचारी खटाउन लागिएको छ । सबै मतदान केन्द्रमा एक कार्यालय सहयोगी खटाउन लागिएको छ ।
खटिनेहरूमा निजामती कर्मचारी, सरकारी स्वामित्वका संस्थानका कर्मचारी रहेका छन् । निर्वाचनमा खटिने कर्मचारीका लागि आवश्यक तालिम सञ्चालन भइरहेको छ । कैलाली जिल्लाका लागि ४० लहर भएको मतपत्रको व्यवस्था गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्